विनोद अविरल

सिराहा - सिराहा जिल्लाको दक्षिणी भेगमा रोपाइँ कार्य सुरु भएको छ । आषाढ महिनाको दोस्रो साता प्रवेश गर्दासमेत व्यापक वर्षा नभएपछि किसानहरूले वैकल्पिक सिँचाइका माध्यमहरू प्रयोग गर्दै रोपाइँ थालेका हुन् । पछिल्ला केही दिनयता चलिरहेको शुष्क हावाले गर्दा वर्षाको छाँटकाँट नदेखिएपछि जिल्लाको पूर्व–पश्चिम राजमार्ग दक्षिण क्षेत्रका बासिन्दाहरूले आफ्ना पोखरी, इनार, तलाउ, मोटरपम्प र पप्पी सेटजस्ता स्रोतहरूबाट पानी झिकेर धान रोप्न थालेका छन् । लहान, मिर्चैया, कर्जन्हा, धनगढीमाई, विष्णुपुर, बरियारपट्टी, औरहीलगायतका पालिकाका किसानहरू अहिले खेतमा व्यस्त छन् । सिँचाइका वैकल्पिक उपाय सबै किसानको पहुँचमा नभएकोले धेरैले वर्षाको प्रतीक्षा गरिरहेका छन् । जलवायु परिवर्तनको प्रभावले असारमा पनि नियमित वर्षा नहुनु र कृषि चक्र अवरुद्ध हुनुले कृषि प्रणालीमै असर पार्न थालेको किसानहरू बताउँछन् ।यसबीच, कृषि तथा जलस्रोत सम्बन्धी सरकारी निकायहरूले समयमा नै सूचना प्रवाह र वैकल्पिक सिँचाइ उपकरणको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता झनै तीव्र भएको देखिन्छ ।