भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न कृषिलाई प्राथमिकता
असार १२, २०८२ / बालासुन्दरी खबर
घुरन यादव
सिरहा - सिरहाको भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न भएको छ ।अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँको बजेट विनियोजन गरिएको घोषणा गरिएको छ । गाउँ सभा अध्यक्ष उग्रनरायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव रहेका थिए। विशिष्ट अतिथिमा नेकपा एमाले सिरहा जिल्ला कमिटी अध्यक्ष अशोक यादव तथा अतिथिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले किसानहरूको राहत र प्रवर्द्धनका लागि गाउँपालिकाले निःशुल्क कृषि मिटरको बिल भुक्तानी गर्ने घोषणा गरे । साथै, गरिब, विपन्न र अपाङ्ग परिवारका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराइने बताए ।
गाउँसभाबाट पारित हुने गरी कृषि तथा पशुपालनमा संलग्न व्यवसायिक कृषकहरूलाई सेवा प्रदायक कार्यालयको सिफारिसमा पुरस्कृत गरिने, विद्यालयहरूमा सीसी क्यामेराको निगरानीमा पठनपाठन गराइने, कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिने, स्थानीय सडक पूर्वाधार सुधार गरिने, गाउँगाउँमा खानेपानीको व्यवस्था मिलाइने र २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन गरिने बताइएको छ ।
त्यस्तै, गाउँपालिकाभित्र रहेका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासमा जोड दिइने र स्थानीय कला, साहित्य तथा पत्रकारितालाई माध्यम बनाएर प्रचार–प्रसार गरिने नीति गाउँसभामा प्रस्तुत गरिएको छ ।
गाउँसभामा प्रस्तुत प्रस्तावहरूमा सहभागी जनप्रतिनिधिहरू र सरोकारवालाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् । सभा समापन गर्दै अध्यक्ष यादवले प्रस्तावित योजनाहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपाध्यक्ष रेखा यादव, वडाध्यक्षहरू रामकुमार यादव, अमरलाल यादव, बिनोद यादव, मिरा यादव, कार्यपालिका सदस्य कामेश्वर यादव, शिक्षा प्रमुख जिवछ यादव, स्वास्थ्य संयोजक विजय यादव, राजेन्द्र यादव, लक्ष्मण मण्डल लगायतको उपस्थिति रहेको थियो ।