जयपुर  -  इरान-इजरायल युद्धले भारतबाट मध्यपूर्व जानेआउने विमानलाई असर गरिरहेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ६० भन्दा बढी उडान रद्द गरिएका छन्।

जसमा दिल्ली विमानस्थलबाट हुने ४८ उडान रद्द गरिएका छन्। यीमध्ये २८ दिल्ली आउने र २० विमान दिल्लीबाट जाने थिए। यस्तै जयपुर विमानस्थलबाट ६ उडान रद्द गरिएका छन्। यसमा मध्यपूर्व जाने र आउने ३-३ उडान छन्।

यूएई-कतार हवाई क्षेत्र बन्द भएका कारण लखनऊ विमानस्थलबाट अबुधाबी र शारजाह जाने २ उडान रद्द गरिएका छन्।अहमदाबाद विमानस्थल आउने ५ उडान रद्द गरिएका छन्। यसमा लन्डन, अबुधाबी, दुबई, कुवेत र दोहाबाट आउने उडान छन्।

यस्तै अमृतसर विमानस्थलबाट दुबई जाने उडान एसजी-५५ पनि रद्द गरिएको छ।जुन २३ अर्थात् सोमबार राति इरानले आफ्नो आणविक अड्डामा भएको आक्रमणको बदलास्वरूप कतारमा रहेको अमेरिकी अल-उदेद हवाई सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो।

त्यसपछि कतार, बहराइन, यूएई, इराक र कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका थिए।तर अहिले इजरायल र इरानबीच युद्धविरामको घोषणा गरिएको छ।