विनोद मण्डल
सिराहा आषाढ ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ अन्तर्गत डाबर टोल र नैनपुर टोलका बासिन्दाको बहुप्रतिक्षित सपना साकार हुने भएको छ । मेयर शिवशंकर महतोको विशेष पहल र सक्रियतामा निर्माण सम्पन्न भएको नैनपुर डाबर टोल खानेपानी आयोजना अब औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो ।
खानेपानी आयोजनाको सम्पूर्ण तयारी फास्ट ट्रयाकमार्फत छिटो गतिमा पूरा भएपछि अब एक भव्य तथा औपचारिक समारोहका बीच नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवले यसको उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।
विगत लामो समयदेखि स्वच्छ र सुरक्षित खानेपानीको अभावमा जीवन यापन गर्दै आएका यहाँका स्थानीयवासीका लागि यो आयोजना आशाको किरण बनेको छ । आयोजनाको सञ्चालन पक्का भएपछि सम्पूर्ण नगर क्षेत्रमा हर्ष र उत्साह थपिएको छ । हजारौं नगरबासीले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने यस आयोजनाबाट शुद्ध र सुरक्षित खानेपानी सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
धनगढीमाई नगर प्रमुख शिवशंकर महतोले आयोजना निर्माणको सफलतामा खुशी व्यक्त गर्दै बताए, "खानेपानी मानव जीवनको आधारभूत आवश्यकता हो । स्थानीय विकास र जनताको जीवनस्तर उकास्न यस्ता आयोजना अत्यन्त महत्वपूर्ण छन् । आगामी दिनहरूमा खानेपानी तथा सरसफाइको क्षेत्रमा अझ सुधार ल्याउन मेरो प्रयास निरन्तर जारी रहनेछ ।
यो आयोजना केवल डाबर टोल र नैनपुर टोलमै सीमित नरही वरिपरिका अन्य बस्तीहरू समेत लाभान्वित हुने छन । खानेपानी सहज रूपमा उपलब्ध भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको कठिनाइ अन्त्य हुनेछ ।
स्थानीय बासिन्दाहरूले अब रोगव्याधि कम हुने, बालबालिकाहरूको स्वास्थ्यमा सुधार आउने र दैनिक जीवन सहज तथा व्यवस्थित बन्ने विश्वास व्यक्त गरेका छन् । जलजन्य रोगहरूको जोखिम घट्ने र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यो आयोजनाको सफलतामा धनगढीमाई नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबीचको समन्वय तथा सहकार्य उल्लेखनीय रहेको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा संघीय तहका जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा स्थानीय जनसमुदायको व्यापक उपस्थिति रहने अनुमान गरिएको छ ।
स्थानीयवासीहरूले आयोजना निर्माण तथा सञ्चालनमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण पक्षप्रति आभार प्रकट गर्दै यस आयोजनाले सामाजिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।




















