काठमाडौं । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अन्य देशका जनप्रतिनिधिसहित बंकरमा आश्रय लिन बाध्य भएका छन् । इजरायलको सफल सहकारी अभ्यासको अध्ययन गर्न सात दिनअघि त्यहाँ पुगेका मेयर कोइराला इरान र इजरायल युद्ध उत्कर्षमा पुगेसँगै बंकरमा लुकेर बस्न बाध्य भएका हुन् ।

आक्रमणको चेतावनी दिने साइरन बजेपछि डेढ मिनेटभित्र सुरक्षित बंकरमा पुग्नुपर्ने बाध्यतामा रहेका उनले आफू अहिलेसम्म ८-९ पटक बंकरमा छिरेको पीडादायी अनुभव सुनाएका छन् । मेयर कोइरालाले आफू राजधानी तेल अभिभबाट करिब ३० किलोमिटर टाढा रहेको ‘सेफाइम’ नामक सहरमा सुरक्षित रहेको जानकारी दिए । ‘नेपालबाट म एक्लै छु, तर मेरो टोलीमा फिलिपिन्सका दुई सांसदसहित विभिन्न देशका १७ जना जनप्रतिनिधि हुनुहुन्छ,’ कोइरालाले भने, ‘यहाँको अवस्था तनावग्रस्त छ । बेलाबेला साइरन बज्छ र हामी सबै दौडिएर बंकरभित्र पस्नुपर्छ ।’

इजरायली सरकारको निम्तोमा त्यहाँ पुगेका कोइरालाको भ्रमण तालिकाअनुसार उनी जुन २० मा नेपाल फर्कने कार्यक्रम थियो । तर, इरानसँगको तनावले इजरायलको हवाई क्षेत्र पूर्ण रूपमा बन्द छ, जसकारण उनको नेपाल फिर्ती अनिश्चित बनेको छ ।

यसैबीच, उनको अवस्थाबारे जानकारी पाएपछि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले दुईपटक भेटेर सुरक्षाबारे चासो व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले समेत कोइरालासँग टेलिफोनमा कुराकानी गरी अवस्थाबारे जानकारी लिएकी छन् । आपत्कालीन सम्पर्कका लागि परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली दूतावासका कुमारबहादुर श्रेष्ठलाई (+९७२–५३५३६०७४८) र दोहास्थित दूतावासका कुमार राईलाई (+९७४-५५६१६०४०) सम्पर्क गर्न सकिने जनाएको छ ।

506746355_1032434309064997_8346886699034210522_n