विनोद मण्डल

जेठ ३१ । सिराहा जिल्लाको सीमावर्ती क्षेत्र बरियारपट्टी पुग्ने मुख्य सडक मार्गमा पर्ने कटनिया नदीमा अब पक्की पुल निर्माण हुने पक्का भएको छ । वर्षौँदेखि पुल अभावमा यातायात अवरुद्ध हुँदै आएको उक्त स्थानमा पुल निर्माण नहुँदा सिराहावासी लामो समयदेखि सास्ती भोग्दै आएका थिए । तर अब नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको सक्रिय पहलमा जनताको यो बहुप्रतीक्षित सपना साकार हुने भएको हो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिरोमाईलदेखि बरियारपट्टी जाने मुख्य सडकमा पर्ने कटनिया नदीमा हरेक वर्ष बाढीका कारण यात्रु तथा सवारी साधनको आवागमन प्रभावित हुनेगरेको थियो । विशेषतः वर्षायाममा नदीको बहाव बढ्ने भएकाले पुल नभएको स्थानमा स्थानीय बासिन्दा जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य हुँदै आएका थिए । यस समस्याको दीर्घकालीन समाधानस्वरूप नेपाली कांग्रेस जिल्ला सभापति तथा पूर्व संविधानसभा सदस्य रामचन्द्र यादवले आर्थिक वर्ष २०८१/०८२ को लागि पुल निर्माणको माग राख्दै शहरी विकास मन्त्रालयमा लिखित रूपमा निवेदन दर्ता गराएका थिए । मिति २०८१/१२/१३ मा कांग्रेसको लेटरहेडमा चलानी नम्बर १७२ सहित सिंहदरबारस्थित मन्त्रालयमा निवेदन दर्ता गराइएको थियो । सभापति यादवको निरन्तर पहल र दबाबका कारण मन्त्रालयले कटनिया पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएसँगै अब छिट्टै निर्माण प्रक्रिया अघि बढ्ने निश्चित भएको हो । सभापति यादवले जनताको पीडा बुझ्दै वर्षौंदेखिको मागलाई प्राथमिकतामा राखेर आफूले पहल अघि बढाएको बताए । उनले भने, “कटनिया पुल केवल एउटा निर्माण मात्र होइन, यो स्थानीय जनताको बाँच्न पाउने अधिकारसँग जोडिएको विषय हो । अब पुल बन्ने पक्का भएपछि जनताले सहज र सुरक्षित यात्रा गर्न पाउनेछन् ।” स्थानीयवासी, सर्वसाधारण र सरोकारवालाहरूले सभापति यादवप्रति कृतज्ञता व्यक्त गर्दै पुल निर्माणमा चासो देखाएका सबै निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । कटनिया पुल निर्माणले अब सिराहाको दक्षिणी सीमा क्षेत्रमा आवागमन, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

494856989_739131188653329_6300044794261116442_n