काठमाडौं - सङ्घीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसाको सम्बन्धमा छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ।
शुक्रबार बसेको मोर्चाको बैठकले भिजिट भिसा प्रकरण र मानव तस्करी तथा भ्रस्टाचारमा संलग्न अपराधीहरु उपर कडा कार्यवाही गर्न माग गर्ने निर्णय गरेको संयोजक राजेन्द्र महतोले बताए।
राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय शान्तिनगरमा बसेको बैठकले चार बुँदे निर्णय गरेको संयोजक महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित राजकिशोर यादव र राम कुमार शर्मा, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर तथा ज्ञानेन्द्र झा र मुकेश झा, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय मुक्ति पार्टीका अध्यष राजेन्द्र महतो, नेताहरू केशव झा, अनिल महासेठ, चन्द्रनारायण चौधरी, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी, जनता प्रगतिशीलका हृदयेश त्रिपाठी र डा शिवजी यादव तथा तमलोपाबाट वृषेश चन्द्र लाल सहभागी थिए।
यस्ता छन् मोर्चाका निर्णय
१) मोर्चाको अर्को बैठक बस्नु अघि मोर्चाका सबै घटक दलहरुबाट सुझाव लिई कार्यविधिलाई पूर्णता दिई मोर्चाको आउने बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरियो।
२) आदिवासी जनजातिहरुको सवालमा काम गरिरहेका राजनीति दल र संगठनहरुसँग सहकार्य गर्ने निर्णय गरियो, र सो कार्यको लागि मोर्चाको सचिवालयले सहकार्यको लागि संवादलाई अगाडि बढाउने निर्णय गरियो।
३) भिजिट भिसाको सम्बन्धमा छानबिन गरि सत्य तथ्य सार्वजनिक गरिनुपर्ने र मानव तस्करी तथा भ्रस्टाचारमा संलग्न अपराधीहरु उपर कडा कार्यवाही गर्न माग गर्ने निर्णय गरियो।
४) हिजो मित्र राष्ट्र भारतको अहमदावादस्थित विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटना भएको अकल्पनीय घटनाप्रति बैठकले गहिरो दुख व्यक्त गर्दछ। उक्त दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुमा बैठकले हार्दिक समवेदना व्यक्त गर्दछ।




















