दिल्ली - लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार भारतको अहमदाबाद नजिकै दुर्घटनाग्रस्त भएको छ। अहमदाबाद बाट लन्डनको गेटविकका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा सवार २४२ जना यात्रु तथा चालक दलमध्ये कोही पनि नेपाली नागरिक नरहेको पुष्टि भएको छ।
विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक सवार हुन सक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो। भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् । भारतीय पक्षले पठाएको यात्रु सूचीअनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिक सवार थिए।
भारतीय नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा दुई जना पाइलट र १० जना चालक दलका सदस्य सहित २४२ व्यक्ति सवार थिए। एयर इन्डियाले आपतकालीन सूचना केन्द्र स्थापना गर्दै परिवारका लागि सहयोग टोली गठन गरेको जनाएको छ।
भारतमा यसअघि पनि यस्ता घातक विमान दुर्घटनाहरू भएका छन्। सन् १९९६ मा नयाँ दिल्लीको आकाशमा दुई जेट ठोक्किएर ३५० जनाको मृत्यु भएको थियो। त्यस्तै, २०१० मा मङ्गलोर विमानस्थलमा भएको एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटनामा १५८ जनाको ज्यान गएको थियो।
सबैभन्दा ठूला विमान दुर्घटनामध्ये एक सन् १९८५ मा भएको थियो, जब एयर इन्डियाको बोइङ ७४७ विमान मन्ट्रियलबाट लन्डन हुँदै दिल्ली जाँदै गर्दा आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा ३२९ जना सवारमध्ये कोही पनि जीवित रहेनन्। पछि अनुसन्धानमा उक्त दुर्घटनामा उग्रवादी सिख समूहको संलग्नता देखिएको थियो।




















