रामएकवाल राम

दोहा कतार : कतारमा स्थापित मधेसी एकता समाज कतारले ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व वक्र ईदको अवसरमा भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन।

गत शुक्रबार गोर्खालीरेस्टुरेन्टको सभाहलामा समाजका अध्यक्ष शिव कुमार महतोको सभापतित्वमा तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममालाई सम्बोधन गर्दै नेता महतोले कार्पेट मुनि फोहोर लुकाएर घर सफा देखाउने प्रवृत्तिले देश विकास नभएको बताएका छन।नेपाल बनाउने योजना बनाए पनि साझा नेपाल बनाउने योजना नभएका कारण सफल नभएको उनको भनाइ छ ।  

अमेरिकाको एक सम्मेलनमा सहभागी भइ नेपाल फर्कने क्रममा कतारमा बसोबास गर्ने नेपाली (मधेशी) श्रमिकहरूसँग भेटघाटका लागि कतार आएका महतोले प्रवासमा रहेका वैचारिक संघसंस्थाले मञ्चमा राजनीतिक आरोप प्रत्यारोप नगरी आफ्ना समस्या र पिडालाई मूल मुद्दा बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

आफ्ना विचार राख्नुपूर्व कतारमा रहेका वैचारिक संगठनका प्रमुख तथा प्रतिनिधिले विभिन्न आरोप प्रत्यारोप गरेको सुनेर बसेका महतोले उनीहरूलाई लक्षित गर्दै नेपालको संसदमा झगडा गरेझैँ कतारमा सार्वजनिक कार्यक्रममा किन राजनीतिक झगडा गरेको भनि प्रश्न गरे ।

उनले प्रत्येक नेपालीले मेरो देश नभनेसम्म देश विकास नहुने बताउँदै अरू राजनीतिक दललाई गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति गलत रहेको धारणा राखे । उनले  देशलाई माया गर्नु नै राष्ट्रवाद रहेको स्पष्ट पारे । 

कार्यक्रममा मधेशी एकता समाजका संस्थापक अध्यक्ष रवीन्द्र कुमार यादव लगायत दोहामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति सहित सम्बोधन गतेका थिए।कार्यक्रमलाई महासचिव चन्द्र्बिर यादवले सहजीकरण गरेका थिए । सम्मान कार्यक्रममार्फत महतोलाई आयोजकसहित मधेस प्रदेश समन्वय परिषद् कतारले दोसल्ला ओढाएर सम्मान गरेको थिए ।