लहान - लहानमा सिरहा सेवा समाज कतारको आयोजनामा एक भव्य तथा भावनात्मक वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। "रक्तदान जीवन बचाउने पुनीत कर्म” भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाएको छ। कार्यक्रम टाइम्स एजुकेशनल लहानको सभाहलमा आयोजित गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष ला. शंकर प्रसाद गुप्तालाई सम्मान गरिएको थियो।कार्यक्रममा रेडियो सरगमका सञ्चालक तथा पत्रकार फिरोज शेख, समाजसेवी विजय यादव, र टाइम्स एजुकेशनल लहानका सञ्चालक भोला जित नेपालको विशेष उपस्थिति रहेको थियो।
रक्तदानजस्तो मानवीय र जीवनदायिनी कार्यमा प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिता देखिएको कार्यक्रममा दुई दर्जनभन्दा बढी स्वयंसेवकले रक्तदान गरेका थिए। कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटीले उपसाखा लाहनले उपलब्ध गराएको थियो।स्थानीय जनसमुदायको बाक्लो उपस्थिति र उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।
कार्यक्रम संयोजक एवं कार्यक्रमको अध्यक्षता शियाराम यादवले कार्यक्रमको समुचित व्यवस्थापन गर्नुभएको थियो भने सिरहा सेवा समाज कतारका अध्यक्ष जय प्रकाश यादवले कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको थियो।




















