काठमाडौं । तीन दिनदेखि ठप्प रहेको सार्वजनिक यातायात सेवा बुधबार बिहानैदेखि पुनः सञ्चालनमा आएको छ । यातायात व्यवसायी महासंघ र सरकारबीच मंगलबार भएको निर्णायक वार्तामा सहमति जुटेसँगै व्यवसायीले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

मंगलबार साँझ गण्डकी प्रदेश सरकारले विवादास्पद ‘राइड शेयरिङ नियमावली’ एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरू आन्दोलन फिर्ता लिन सहमत भएका थिए । उक्त राइड शेयरिङ नियमावली तत्काल खारेज गर्नुपर्ने मुख्य माग राख्दै यातायात व्यवसायीहरूले गत जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायातका साधनहरू सञ्चालनमा नल्याउने घोषणा गरेका थिए, जसका कारण लाखौं यात्रुहरूले सास्ती व्यहोर्नुपरेको थियो ।

आन्दोलन फिर्ता भएसँगै काठमाडौं उपत्यकाभित्र गुड्ने तथा उपत्यका बाहिर जाने छोटो तथा लामो दूरीका सबै प्रकारका सार्वजनिक सवारी साधनहरू आज बिहानैदेखि नियमित रूपमा सञ्चालनमा आएका छन्। यसले गर्दा विशेषगरी काठमाडौंको नयाँ बसपार्क लगायतका प्रमुख स्थानहरुमा यात्रुहरूको चहलपहल ह्वात्तै बढेको छ भने आम नागरिकले राहत महसुस गरेका छन् ।