रामएकवाल राम
दोहा :- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायको तर्फबाट कतारको सामुदायिक प्रहरी विभागसँग भेटघाट तथा छलफल गरेको छ।
गतमे २७ तारिख मङ्गलबारका दिन कतारको आन्तरिक मन्त्रालय अन्तर्गतको सामुदायिक प्रहरी विभागका निर्देशकसँग नेपाली समुदायको तर्फबाट गैर आवासीय नेपाली संघ एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, बरिष्ठ उपाध्यक्ष कृष्ण पन्थी, द्वितीय उपाध्यक्ष केशव कार्कीको उपस्थितिमा विशेष छलफल गरेको छ।
भेटघाट तथा छलफलको क्रममा एनआरएनए एनसीसी कतार र कतार सामुदायिक प्रहरी सङ्ग १० बुदाँगत रुपमा सहकार्य गरिने सहमती भयो।
१. समुदाय प्रहरीसँग सहकार्य
चारवटै सामुदायिक प्रहरी कार्यालयसँग परिचय र सम्बन्ध मजबुत बनाउन हामी इच्छुक रहेका छौं। यसले हामी बिचमा संचार र सहकार्यलाई अझ प्रभावकारी बनाउनेछ।
२. कोर्निशमा जनचेतना कार्यक्रम
प्रवासी कामदारहरूका लागि सुरक्षा, अधिकार र उपलब्ध सहयोगबारे जनचेतना दिने कार्यक्रम आयोजना गर्ने योजना बनाइएको छ।
३. सार्वजनिक जनचेतना हलको माग
हरेक तीन महिनामा एकपटक नेपाली समुदायद्धारा जनचेतना कार्यक्रम गर्न हलको माग गरिएको छ।
४. लाइफ ज्याकेट अनिवार्यता अभियान
डुङगा प्रयोग गर्नेहरूमाझ पानी सुरक्षा सम्बन्धी जनचेतना फैलाउन लाइफ ज्याकेट प्रयोगलाई अनिवार्य बनाउने अभियान सञ्चालन गरिनेछ।
५. आपसी सद्भावका लागि कार्यक्रम
कतारी समाज र प्रवासी समुदायबीच समझदारी र सांस्कृतिक आदानप्रदान बढाउन संयुक्त कार्यक्रमको प्रस्ताव राखिएको छ।
६. लिमोजीन ड्राइभरहरूका लागि सुरक्षा तालिम
लिमोजीन सेवा प्रदान गर्ने चालकहरूका लागि यातायात नियम र सुरक्षित ड्राइभिङ्गबारे तालिमको योजना बनाइएको छ।
७. वातावरण दिवस मनाउने
विश्व वातावरण दिवसमा पंक्षी (शान्तिको प्रतीक) उडाउने कार्यक्रम गरी दुवै समुदायले वातावरण संरक्षणप्रति प्रतिबद्धता देखाउने।
८. स्वास्थ्य जाँच शिविर
कामदारहरूका लागि स्वास्थ्य परीक्षण शिविर आयोजना गर्न प्रहरी विभागसँग सहकार्य गरिनेछ।
९. महिला प्रवासी कामदारहरूका लागि विशेष जनचेतना
महिला प्रवासीहरूको सुरक्षामा केन्द्रित विशेष जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
१०. लागूपदार्थ विरोधी अभियान
लागूपदार्थ र मदिरा दुरुपयोग विरुद्ध जनचेतना फैलाउने र प्रहरीलाई सहयोग गर्ने ।
११. नेपाली कैदीहरूको रिहाइमा अपिल
कतारका विशेष राष्ट्रिय दिवसहरूमा सामान्य अपराधमा जेल सजाय भोगिरहेका नेपाली कैदीहरूको दया माफीको लागि अनुरोध गरिएको छ।नेपाली समुदायतर्फ बाट एनआरएनए कतारले कतारको समुदाय प्रहरी विभागसँग सहकार्य गर्दै सुरक्षित, सचेत र सम्मानजनक समाज निर्माणमा प्रतिबद्ध रहने संघ कतारका महासचिव रबिन मगरले जानकारी दिए।




















