दोहा - गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। 

शुक्रबार सनैया स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा गोरखा सेवा समाज कतारका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व उप–संयोजक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता थियो । 

सन् २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतारको नेपाली समुदायको अग्रणी संस्था हो । स्थापनाकालदेखि नै परोपकारी तथा सामाजिक कार्यमा अग्रसर रहेको यो संस्थाले जिल्ला अस्पताल गोरखामा एउटा इसिजी मेसिन, ४ वटा स्ट्रेचर बेड, विद्यालय भवन निर्माणमा सहयोग गर्दै हाल २५ लाख रुपैयाँको अक्षयकोष खडा गरी जिल्लाका विभिन्न विद्यालयका विपन्न, असहाय र संरक्षित बालबालिकाहरूलाइ सहयोग गर्दै आइरहेको छ ।

नेपाली कला, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न मनकामना कला केन्द्र सञ्चालनमा ल्याई कलाकार उत्पादन र मौलिक संस्कृतिको जगेर्ना गर्न सफल भएको संस्थाका संरक्षक बुधबल गुरुङले बताए । समाजले जिल्ला भित्रका सडक तथा गल्लीहरूमा भौँतारिरहेका बेसाहाराहरूलाइ सेवा गर्न मानव सेवा आश्रमसँग हातेमालो गर्दै विभिन्न जनचेतनामूलक, ज्ञानवद्र्धक र मानव मुक्त गोरखा बनाउन चरणद्ध रूपमा काम गर्दै आइरहेको र भर्खरै मात्र पनि मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १११रुपैयाँ हस्तान्तरण गरेको राकेश श्रेष्ठले जानकारी दिए ।

प्रमुख अतिथि भट्टराईले २००३ मा स्थापना भएर आजसम्म आइपुग्दा समाजले गरेको योगदानलाई हृदयङ्गम गर्दा आफू गौरवान्वित भएको बताउँदै संस्थाले गरेका कामहरूको प्रंशसा गरे ।

१३औ अधिवेशनबाट २०२५–०२७ का लागि नयाँ कार्यसमिति गठन भएको छ । समितिको अध्यक्षमा विकाश श्रेष्ठ चयन भएका छन् । यस्तैमा वरिष्ठ उपाध्यक्षमा अर्जुन संग्रौला र उपाध्यक्षमा राजेन्द्र पराजुली तथा रामचन्द्र गिरीलाई चयन गरिएको छ ।

महासचिवमा रुद्र बहादुर भट्ट र सचिवहरूमा पवन गुरुङ र पूर्ण बहादुर गुरुङ हुन् । कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः अशोक श्रेष्ठ र दिनेश थापा छन् ।

नगरपालिका तथा गाउँपालिका संयोजकहरूमा पालुङटार नगरपालिकाका नन्दलाल श्रेष्ठ, सिरानचोक गाउँपाकिलाका सूर्यबहादुर गुरुङ, अजिरकोट गाउँपालिकाका राजु गुरुङ, शहिदलखन गाउँपालिकाका दीपक बि.क र आरुघाट गाउँपालिकाका रश्मि गुरुङ छन् ।

यस्तै समाजको केन्द्रीय सदस्यहरूमा दुर्गा भुजेल, मालती गुरुङ, मदन बखाती र प्रदिप मल्ल ठकुरी छन् ।