विनोद मण्डल

सिरहा सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो किसानप्रति गरेको ऐतिहासिक सहयोगका कारण यतिबेला नगरभरि उनको प्रशंसा भइरहेको छ । आम किसानको हितमा खुलेर उत्रिएका मेयर महतोले कृषि सिंचाइका लागि प्रयोग गरिएका विद्युत मिटरहरूको बक्यौता महशुल एकैपटक नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) लाहान शाखालाई चेक हस्तान्तरण गर्दै नयाँ उदाहरण प्रस्तुत गरेका छन् । मेयर महतोले १ करोड ६० लाख ९८ हजार ६६२ रुपैयाँको चेक ने.वि.प्रा. लाहान शाखालाई हस्तान्तरण गरेपछि नगरका आ.व.२०७९/८० देखि २०८१/०८२ सम्मका करिब २०८१ साल माघ मशानत सम्मको बिल भुक्तानी हुँदा करिब ३७२४ जना कृषकहरु लाभान्वित भएका छन । ३७२४ जना किसानहरू खुशीले गदगद भएका छन् । आर्थिक वर्ष २०७९/०८० देखि तिर्न बाँकी रहेको सिंचाइ मिटरको महशुल यसरी समग्र रूपमा नगरपालिकाले भुक्तानी गरेको यो पहिलोपटक हो । नगर क्षेत्रमा विगत चार जना प्रमुख प्रशासकीय अधिकृतको कार्यकालसम्म समेत किसानहरूको महशुल तिर्न नसकिएको अवस्थामा, मेयर महतोले आफ्नो नेतृत्वमा किसान हितमा साहसिक निर्णय लिँदै बक्यौता रकम चुक्ता गरेका हुन । कार्यक्रमका क्रममा ने.वि.प्रा. लाहान शाखाका इन्जिनियर मनोज शाहले बोल्दै भने, “धनगढीमाई नगरपालिका यो जिल्लाको पहिलो यस्तो नगरपालिका हो, जसले एकैपटक करोडौं रुपैयाँ बराबरको महशुल भुक्तानी गरेको छ । मेयर महतोले भने, “किसान देशको मेरुदण्ड हुन् । तिनीहरूको समस्या समाधान नगरी नगर समृद्धि सम्भव छैन । बक्यौता महशुल तिरेर किसानलाई राहत दिनु मेरो पहिलो प्राथमिकता हो, र आगामी दिनमा पनि कृषिमा आधारित योजनाहरूलाई अघि बढाउने छु ।” नगरका किसानहरूले मेयर महतोप्रति कृतज्ञता व्यक्त गर्दै, उनको नेतृत्वमा आफूहरूको हकहित सुरक्षित भएको अनुभव व्यक्त गरेका छन् । यस अभूतपूर्व कदमले धनगढीमाई नगरपालिकाको मात्र होइन, समग्र सिरहा जिल्लाको पनि ध्यान आकर्षित गराएको छ ।