लहान - सिरहाको लहान नगरपालिका -१२ र २२ मा पर्ने पासवान समुदायको कुल देवताको रुपमा रहेको एतिहासिक तथा धार्मिक राजा सल्हेशको फुलबारी संरक्षणका लागि सडक र्याली र खबरदारी सभा गर्ने भएको छ।

जेष्ठ १६ गते शुक्रबार लहानमा सल्हेश पासवान समाज सिरहाको आयोजनामा सल्हेश फुलबारी अतिक्रमण विरुद्ध खबरदारी सभा गर्न लागेको हो।

गत बैशाख १५ गते मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सलहेश फूलवारीसँगै टाँसिएको १० धुर जग्गामा मधेश सरकारले भारतीय नेता स्व. भीमराव अम्बेडकरको नाममा पार्क निर्माण गर्नका लागि शिलान्यास गरेका थिए। पुजारी जीतेन्द्र सिंह धामीले दान दिएको जग्गामा अम्बेडक्र पार्क निर्माण गर्न मधेश सरकार ८० लाख बजेट छुट्याएको थियो।

अम्बेडकर पार्कको शिलान्यास भएपछि विरोध सुरु भयो । राजा सलहेशको गाथा र वीरतासँग जोडिएको ऐतिहासिक तथा धार्मिक सलहेश फुलवारीको इतिहास मेट्न षड्यन्त्र गरेको भन्दै पार्क निर्माणको विरोध पासवान समूदायले गरे । राजा सलहेश पासवान समूदायको कुल देवता हो । त्यसैले सो समूदाय सलहेश फूलवारीको संरक्षण गर्न समिति बनाएर संगठित बनेको छ ।

गत बैशाख २८ गते सलहेश फूलवारी संरक्षण संघर्ष समितिले मोहन पासवानको संयोजकत्वमा मधेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा ज्ञापन पत्र बुझाएका थिए।पासवान समुदायले ज्ञापन पत्र बुझाए लगतै योजना नै रद भएको अध्यक्ष राउको सचिवालयले जनाएको छ।

 यता राम ( चमार ) समुदायले पार्क निर्माण हुनु पर्छ भन्दै गत जेष्ठ ७ गते बुधबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन्।

अम्बेडकर पार्क बनाउने भनेर शिलान्यास गराएको सलहेस फूलबारी नजिकको १० धुर जग्गामै पार्क बनाउनुपर्ने उनीहरूको माग छ।जग्गा अपुग भए चमार समुदायका डा. काशीन्द्र महरा चमारले थप दुई कट्ठा जग्गा सरकारलाई दिने लिखित प्रस्ताव पनि ज्ञापनपत्रमार्फत दिइएको छ।