रामएकवाल राम
कतार:- कतार स्थित नेपाली राजदुतावासले एक कार्यक्रमको आयोजना गरी १८ औ गणतन्त्र दिवस मनाउने भएको छ।
बिहीवार बिहान ८:३० बजे देखी नेपाली राजदूतावासको सभाहलमा एक विशेष कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाउन लागेको राजदूतावास कतारका सूचना अधिकारी तथा प्रथम सचिव कृष्ण कुमार क्षेत्रीले जानकारी दिए।
राजदूतावासले कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा गरिमामय उपस्थिती जनाईदिनु हुन हार्दिक अनुरोध पनि गरेको छ।
गणतन्त्र दिवसको अवसरमा सो दिन राजदूतावास बिदा रहने हुँदा, राहदानी आवेदनका लागि एपोइन्ट्मेन्ट लिइसकेका सेवाग्राहीहरूले आफ्नो समय तालिका पुनः व्यवस्थित गर्न अनुरोध गरिएको छ। राजदूतावासले सूचित गरेअनुसार, १ जुन २०२५ देखि १० जुन २०२५ भित्र कार्यालय समयको बीचमा सेवा लिन सकिने जनाएको छ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो। उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ।





















