सिरहा - सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले आफूविरुद्ध समाचार लेख्ने पत्रकारले भयानक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । मेयर यादवले मंगलबार एक भिडियो सन्देश जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा मारेको थियो । अख्तियार स्रोतका अनुसार नगरपालिकाबाट राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदनलगायत कागजात नियन्त्रणमा लिइएको छ ।
अख्तियार बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेलले नै पुष्टि गरेपछि सञ्चारमाध्यमले यसबारे समाचार प्रकाशित गरेको थियो । तर, यो कुरा अनर्गल प्रचारबाजी भएको भन्दै मेयर यादवले पत्रकारलाई भारी पर्ने चेतावनी दिएका हुन् । मेरो पालिकाविरुद्ध कसैले लेख्छ भने मलाई यसबाट डर छैन, पत्रकारहरू डराउनुपर्छ उनले भिडियोमा भनेका छन पत्रकारहरूलाई भारी पर्छ, यसको परिणाम भयानक हुन्छ ।
यसरी आफूविरुद्ध लेखिरहे पत्रकारलाई दण्ड र जरिवाना गराउने उनको चेतावनी छ । म चेतावनी दिन चाहन्छु, मेरो कार्यकालमा मेरो पालिकाविरुद्ध जथाभावी नलेख्नुस उनले भनेका छन यस्तो गर्नेलाई भारी जरिवाना र दण्ड दिलाउने गरी म अगाडि बढ्नुपर्ने हुन्छ ।




















