विनोद मण्डल

लहान - सिराहा जिल्लाको लहान नगरपालिकामा अवस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको चौर विगत केही महिनादेखि पोखरीमा परिणत भएपछि खेल गतिविधि ठप्प बनेका छन् । वर्षा सुरु नहँदै मैदानमा पानी जमेर दलदलजस्तै अवस्था सिर्जना हुँदा विद्यालयका खेलाडीहरू निराश भएका छन्, भने विद्यालय प्रशासन मात्र दर्शक बनेर चुपचाप हेरेको आरोप लागिरहेको छ । विद्यालय परिसरको मुख्य खेलमैदान जलमग्न हुँदा विद्यालय स्तरीय फुटबल, क्रिकेट, भलिबल लगायतका नियमित अभ्यास तथा प्रतियोगिता कार्यक्रमहरू प्रभावित भएका छन् । विद्यार्थीको खेलदौडको अधिकार समेत कुन्ठित भएको अभिभावक र विद्यार्थीहरूले गुनासो गरेका छन् । कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले भने, “हामी प्रत्येक दिन खेल अभ्यासका लागि मैदानमा जान्थ्यौं । अहिले मैदाननै हिलो र पानीले भरिएको छ, खेल्न त परै जाओस्, उभिनसमेत नसकिने अवस्था छ ।” स्थानियले चौरको दुर्दशाप्रति चिन्ता व्यक्त गर्दै चाँडो व्यवस्थापनको माग गरेका छन् । स्थानीयबासीका अनुसार, विद्यालय मैदानमा उचित ढल निकासको व्यवस्था नहुँदा थोरै वर्षा वा वरपरको नालीको पानीसमेत मैदानमा जम्मा हुने गरेको छ । चौरको सतह सम्याउने, ढल निकासको पूर्वाधार निर्माण गर्ने लगायतका कामहरू वर्षौंदेखि बेवास्ता हुँदै आएको उनीहरूको भनाइ छ । विद्यालयको चौर पोखरीमा परिणत हुँदा शिक्षाको पूर्णताको लागि आवश्यक पर्ने शारीरिक क्रियाकलापबाट विद्यार्थीहरू वञ्चित हुनु शिक्षा प्रणालीकै कमजोरी भएको सरोकारवालाहरूले औंल्याएका छन् ।स्थानीय युवा क्लब तथा विद्यालय व्यवस्थापन समितिले संयुक्त रूपमा पहल गरी चौरको स्तरवृद्धि, निकास सुधार तथा दीर्घकालीन पूर्वाधार निर्माणको माग गर्न भने जरुरी देखिन्छ । विद्यालयको चौर पुनः खेलमैदानमा फर्काउने प्रयासलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने आवाज बढ्दो छ ।