काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरूले माग तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नारा लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै  नाराबाजी गरेका हुन् ।

यसअघि  विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका थिए । 

प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए पछि सभामुख  घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न दिए । 

पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे ।