सिरहा - सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्ति प्रक्रियामा व्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ।

गाउँपालिका अध्यक्ष, शिक्षा इकाईका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको मिलेमतोमा प्रति शिक्षक ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुल गरी नियुक्ति प्रक्रिया अगाडि बढाइएको र परीक्षाको अघिल्लो रात नै प्रश्न पत्र बाहिरिएको प्रमाणहरू फेला परेका छन्।

नवराजपुर गाउँपालिका–४ स्थित श्री जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयले गत असार १६ गते ९ जना र चैत ५ गते ३ जना गरी कुल १२ शिक्षक पदपूर्तिका लागि सूचना प्रकाशित गरेको थियो। जसमा १५१ जनाले आवेदन दिएका थिए।

तर, नियुक्ति प्रक्रियामा राजनीतिक र आर्थिक प्रभाव पार्दै शिक्षा विकास तथा समन्वय इकाई समेतको मिलेमतोमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठनका लागि शिक्षा समितिबाट सिफारिस गराइएको देखिन्छ।

कानुनतः विद्यालयले अभिभावक भेलाबाट व्यवस्थापन समिति गठन गर्नुपर्नेमा सो प्रक्रिया मिचेर पालिका अध्यक्ष शिव उदगार यादवले आफ्ना निकट व्यक्तिहरूलाई अस्थायी समितिमा मनोनीत गरेका थिए। यो समितिमा यादव निकट रामचन्द्र यादव, रामकुमार यादव, तारादेवी यादव र अमिरका यादव अस्थायी समिति सदस्य बनेका थिए।

शिक्षक नियुक्तिमा भएको आर्थिक लेनदेन पुष्टि गर्ने अडियो रेकर्डहरू समेत सार्वजनिक भएका छन्। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत घुरन यादव र विद्यालय व्यवस्थापन समितिका सदस्य जीवछ यादवबिच भएको फोन संवादमा उठेको रकमबारे कुराकानी भएको छ।

संवादमा घुरन यादवले ‘जसको पैसा लिएको छु, उसको नाम नै निस्केन। उठाएको एक पैसा पनि मुखियाज्यू (पालिका अध्यक्ष) कहाँ गएको छैन, भन्दै प्रभात ठाकुरको ५ लाख मात्र अध्यक्षकहाँ पुगेको र बाँकी रकम प्रधानाध्यापक मुरारी शर्माले लिएको बताएका छन्।

यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले एक उम्मेदवारसँग ८ लाख रुपैयाँ माग गरेको र पछि ‘भोज खर्चका लागि १ लाख ५० हजार दिनुस्, म प्रयास गर्छु’ भनी चेक लिएको तर नियुक्ति नभएको पीडितको गुनासो छ।

अनियमितताको सिलसिला यतिमै सीमित छैन। परीक्षाको एक दिनअघि राति १ बजेर १३ मिनेटमा बरियारपट्टी गाउँपालिका–१ स्थित आधारभूत विद्यालयका प्रधानाध्यापक रामसुफल यादवको मोबाइल नम्बरबाट आवेदकहरूको मोबाइलमा प्रश्न पत्र र त्यसको उत्तर समेत पठाइएको पाइएको छ।

यस सम्बन्धमा जनता नमूना माविका प्रधानाध्यापक मुरारी शर्माले प्रश्न पत्र बाहिरिएको र रकम असुलेको आरोपलाई ‘अफवाह’ भन्दै आफूलाई जानकारी नभएको र प्रमाणहरू ‘इडिटिङ’ गरिएको हुन सक्ने दाबी गरे।

गाउँपालिका अध्यक्ष शिव उदगार यादवले पनि अनियमितताको आरोप निराधार भएको र विपक्षीले भ्रम फैलाउन खोजेको जिकिर गरेका छन्।सभार:- नागरिक दैनिक

1748077163_2

1748077162_1

1748077161_3