काठमाडौं : भिजिट भिसाको संगठित धन्दा चलाएको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन काग्रेसभित्रैबाट दबाब बढेको छ। कांग्रेस नेता डा.शखेर कोइरालाले समेत उनलाई राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।
शनिबार विराटनगरमा पत्रकारहरुसँग बोल्दै उनले नैतिकताका हिसाबले राजीनामा गर्नुपर्ने बताएका हुन् । उनले भने उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरें, छानविन समिति बनाउनुस्, भने भइहाल्यो, सक्यो, त्यसले मोरल स्ट्याटस देखाउँछ ।’
विमानस्थलबाट हुने भिजिट भिसाको मानवतस्करी मन्त्रालयकै मिलेमतोमा चलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनले देखाएको छ। गिरोहमा उनको सचिवालयका कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएको स्रोत बताउँछ । पछिल्लो समय अध्यागमनमा दैनिक ५० लाखसम्म लेनदेन हुने गरेको सूचनाका आधारमा अख्तियारले मंगलबार छापा हानेको थियो। आयोगले सहसचिव तिर्थराज भट्टराई र उनका सहयोगीहरुको मोबाइल जफत गरेर अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमै गृह मन्त्रालयको मिलेमतो देखिएको स्रोत बताउँछ । संस्थागत र संगठित रुपमा भिजिट भिसामा असुली धन्दा चलेको थियो।




















