जनकपुरधाम- नेकपा एमालेको धनुषा जिल्लाको अधिवेशनअन्तर्गत आज मतदान हुन लागेको छ ।
गत वैशाख २३ गते ८ औँ जिल्ला अधिवेशनअन्तर्गत मतदानको तालिका रहेकोमा धाँधली भएको भन्दै दुई पक्षबीच विवाद भई झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको थियो ।
उम्मेदवारहरुको अन्तिम नामावलीमा धाँधली गरेको भन्दै विवाद सुरु भएपछि झडप भएको थियो। त्यसक्रममा मतपत्र च्यात्नेदेखि कुर्सी तोडफोडसम्म भएको थियो। सोही क्रममा ५ जना घाइतेसमेत भएका थिए । समयमा अधिवेशन नभएपछि केन्द्रमा विवाद मिलाउने काम भएपछि आज मतदान हुन लागेको हो ।
महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुन लागेको मतदानमा सुरक्षा व्यवस्था कडा गरिएको छ । मतदान स्थलमा उम्मेदवार र मतदाता बाहेकलाई प्रवेशमा निषेध गरिएको हो । यस्तै उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
वैशाख २० गतेदेखि जारी अधिवेशनमा जिल्ला कार्यसमिति चयन सर्वसम्मत रुपमा नभएपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो।




















