तराई विकास तथा सञ्चार केन्द्रद्धारा सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका विषयक कार्यक्रम सम्पन्न
रंजित चौरसिया
वीरगंज ४ जेष्ठ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना, जिल्ला प्रशासन कार्यालय पर्साको संयोजन तथा वीरगंज महानगरपालिकाको सहकार्यमा “सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका” विषयक कार्यक्रम आईतवार वीरगंजको होटेल बृन्दावनमा सम्पन्न भएको छ ।
आयोजक संस्थाका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गल्ती नगरेपछि कसैले केही बिगार्न नसक्ने भन्दै राष्ट्रसेवक कर्मचारीहरुले गल्ती नगरेको अवस्थामा डराउनु पर्ने अवस्था नरहेको बताए । उनले कतिपय कर्मचारीहरुले जानी–जानी गल्ती गरेको हुनाले त्यस्तो कर्मचारीलाई कानुनको दायरा भित्र ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख उमाकान्त आचार्यलाई आग्रह गरे ।
विशिष्ट अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख उमाकान्त आचार्यले अख्तियारमा उजुरी पर्दैमा आत्तिनु पर्ने अवस्था नरहेको भन्दै अख्तियारले सो उजुरी छानबिन गर्दा दोषी भए कारवाही गरिने नभए सो उजुरीलाई तामेलीमा हामी राख्ने गरेको बताए । प्रमुख आचार्यले सुशासनको सवालमा प्रशिक्षणात्मक ज्ञान दिदै राष्ट्रसेवक कर्मचारीहरुले आ–आफ्ना दायरा भित्र रही कार्य गर्नु पर्ने सुझाएका थिए । अर्का विशिष्ट अतिथि महालेख परीक्षक कार्यालय मधेश प्रदेश प्रमुख नायब महालेखा परीक्षक ईन्द्र प्रसाद आचार्यले स्थानिय तहमा बेरुजु बढदै गएकोले त्यसलाई कसरी कम गर्न सकिन्छ सो सन्दर्भमा वहाँले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै मधेशमा लेखापरीक्षण गर्न आएका लेखापरीक्षकहरुमा अनावश्यक खर्च नगर्न आग्रह गरेका थिए ।
उनले देखिएको सबै बेरुजुहरुलाई भ्रष्टाचार भन्न नमिल्ने तर केही बेरुजुहरुलाई भ्रष्टाचार भन्न मिल्ने भन्दै सोलाई छुटयाउने अधिकार नियमनकारी निकायलाई भएको बताए । अर्का विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुशासन प्रत्याभुत गराउने सन्दर्भमा आई परेका चुनौतीहरु तथा प्रस्तुत कार्यपत्रहरुमा टिप्पणी गर्दै सुशासनको प्रत्याभुति गराउने गरी काम गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई सुझाएका थिए ।
अर्का विशिष्ट अतिथि पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानले यो कार्यक्रमबाट धेरै कुरा सिक्ने मौका पाईएकोले सुशासन सन्दर्भमा यस्ता कार्यक्रमहरु पटक–पटक भए राम्रो हुने बताए । सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रहरी नायब उपरिक्षक राजिव श्रेष्ठले अख्तियारको काम कारवाहीको बारेमा कार्यपत्र प्रस्तुत गर्दै भ्रष्टाचार गर्नेले म चाहिं होईन, उ ले नै गरेको दोष थुपार्ने प्रवृति अख्तियारको दायरामा आउने व्यक्तिहरुको रहेको बताए ।
सो कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख दिपक लामिछाने, राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरि शर्मा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रा, सशस्त्र प्रहरी बल नेपाल १३ नं. गणका प्रमुख राधेश्याम धिमाल, वीरगंज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण लगायत विभिन्न स्थानिय तहका प्रमुखहरु, उपप्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुखहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्