काठमाडौँ -  नेपाल सरकारले कतार सरकारलाई चाँडै हात्ती पठाउने तयारी गरिरहेको जनाइएको छ । यसका लागि नेपालले हात्तीको विषयमा जेठ महिनाभित्रै दूतावासमा पत्राचार गर्ने वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । नेपालले कतारलाई उपहार स्वरुप हात्ती पठाउने भएको हो । 

वनमन्त्री ऐनबहादुर शाही ठकुरी र कतारका विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगो व्यवस्थापन सम्बन्धी विशेष दूत एवं उपमन्त्री बदर उमर अल दफाबीच शनिबार (जेठ ३) भएको भेटवार्तामा नेपालले यसबारे जानकारी दिएको हो ।

नेपालले आयोजना गरेको प्रथम संस्करणको ‘सगरमाथा संवाद २०२५’ को अवसरमा वनमन्त्री शाही र कतारका विशेष दूत अल दफाबीच भेट भएको हो । भेटमा मन्त्री शाहीले प्रदूषण नियन्त्रणमा नेपालले दीर्घकालीन चुनौतीको सामना गरिरहेको बताए । साथै, उनले कतारसँग नेपाल जलवायु परिवर्तन, वन तथा वातावरणसम्बन्धी प्रविधि जस्ता विषयमा सहकार्य गर्न इच्छुक भएको समेत बतााए ।

जेठ २ देखि सुरु भएको सगरमाथा संवाद ३ गते सम्पन्न हुँदैछ । नेपालले ‘जलवायु परिवर्तन, पर्वत र मावन भविष्य’ विषयमा बृहत् छलफल गर्दैछ । जहाँ १२ देशका मन्त्रिस्तरिय प्रतिनिधि र करिब ४० देशका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् ।