साउदी - साउदी अरबको पूर्वी क्षेत्र जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनी लिमिटेडमा ८ महिनादेखि ४ सय ६९ जना नेपाली कामविहीन भएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनी टाट पल्टिएपछि नेपाली श्रमिक कामविहीन भएका हुन् । दूतावासका अनुसार उनीहरूलाई नेपाल पठाउन आवश्यक पर्ने बहिर्गमन भिसा (एक्जिट परमिट) नलाग्दा समस्या देखिएको छ । 

कम्पनीमा रहेका नेपाली श्रमिकले आफूहरूलाई जतिसक्दो छिटो उद्धार गरी नेपाल पठाउन अपिल गरेका छन् । १० वर्षदेखि कम्पनीमा काम गरेका रामप्रसाद यादवले कम्पनीको क्याम्पमा सुतेर बस्नुपर्दा निकै समस्या बढेको बताए । ‘हाम्रो दैनिक जीवन बिग्रिँदै गइरहेको छ । कम्पनीले काम दिन छाडेपछि हामीलाई बिहान बेलुका दाल र भात दिइरहेको छ,’ उनले भने,‘कसैसँग एकपैसा साथमा छैन । ओषधि किनेर खाना पैसा छैन । बिरामी पर्न थालेका छन् ।गत डिसेम्बर २४ देखि कम्पनी पूर्ण रूपमा बन्द भएको दूतावासले जनाएको छ ।

श्रम काउन्सिलर कविराज उप्रेतीका अनुसार उनीहरूलाई स्वदेश पठाउन अझै एक महिना लाग्न सक्ने बताए । ‘सबैको आवासीय भिसा सकिएको छ । स्वदेश फिर्न एक्जिट परमिट निस्कनुपर्छ । त्यो निस्कन अझै एक महिना लाग्ने साउदीको श्रम विभागले जनाएको छ उनीहरूलाई छिटो नेपाल पठाउन रियाद र जुबेलको श्रम कार्यालयसँग समन्वय भइरहेको छ  ।