काठमाडौं :संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथिका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । पश्चिम एसियाको भ्रमणमा रहेका ट्रम्पले साउदी अरबको रियादमा एक लगानी फोरममा बोल्दै अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले आफ्नो ‘उद्देश्य’ हासिल गरेकाले अब त्यसको आवश्यकता नभएको बताए । 

ट्रम्पको घोषणालाई अरब नेता र सिरियाली नागरिकले स्वागत गरेका छन् । देशमाथि एक दशकदेखि लागेको कठोर आर्थिक प्रतिबन्ध हट्ने खबर बाहिरिएपछि कैयौँ सिरियाली नागरिक देशको झन्डा फहराउँदै दमासकसको उम्मायद चोकमा भेला भएर खुसी व्यक्त गरेका थिए ।

अल–असद परिवारको ५० वर्षभन्दा लामो कठोर शासन अन्त्यपछि सिरियाका लागि प्रतिबन्धहरू हटाउने ट्रम्पको प्रतिज्ञा एक प्रमुख मोड बन्न सक्छ । गत डिसेम्बरमा हाल सिरियाका अन्तरिम राष्ट्रपति रहेका अहमद अल–सारा नेतृत्वको विद्रोही फौजले बसर अल–असदको शासन अन्त्य गरेको थियो ।

‘त्यहाँ अहिले एक नयाँ सरकार बनेको छ । आशा गरौँ देशमा शान्ति कायम हुनेछ,’ ट्रम्पले रियादमा राष्ट्रपति अहमद अल–साराको नेतृत्वको अन्तरिम सरकारलाई इंगित गर्दै भने ।  सिरियामाथिको प्रतिबन्ध अन्त्य गर्ने निर्णयमा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान (एमबिएस) र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रभावित बनाएको ट्रम्पले बताएका थिए ।

अमेरिकी प्रतिबन्ध हट्दा सिरियाको आर्थिक विकास, आर्थिक समृद्धि स्थापना गर्ने क्षमतामा रहेको प्रमुख अवरोध हट्नेछ,’ मिडल इस्ट काउन्सिल अन ग्लोबलअफेयर्सका फेलो ओमर रहमानले भने, ‘ट्रम्पलाई यो काम गर्न धेरै गाह्रो पनि छैन । किनकि, उनले यसका लागि कंग्रेससँग अनुमति माग्न आवश्यक पर्दैन ।