दोहा - नेपाल समाजवादी पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारका उपाध्यक्ष रामचन्द्र गिरीले प्रधानमन्त्रीलाई बोधार्थ गर्दै पत्राचार गरेका छन्। उनले पत्रमा भनेका छन् विदेशमा रहेका नेपालीहरुलाइ रेमिट्यान्स पठाउने मेसिनका रुपमा मात्रै नहेरी हालको संविधानले प्रदत्त गरेको मौलिक अधिकार प्रत्यायोजन गर्न पनि आग्रह गरेका छन् ।
खाडी मुलुकमा काम गर्ने लाखौँ नेपालीहरूले देशका लागि रेमिट्यान्स पठाइरहदा पनि उनिहरुको समस्यामा राज्य उदासीन हुन् नमिल्ने र बिरामी हुँदा उपचार नपाउने, मृत्युपछि घर फर्कने लासलाई समेत नितिगत परक्रियाको झन्झटिलो अवस्था खेप्नुपर्ने र आर्थिक अभावका कारण महिनौं दिनसम्म लास मुर्दाघरमा सडेर बस्नुपर्ने अवस्था अन्त्य गर्न माग गर्दै प्रधानमन्त्री कार्यलयलाई पत्र लेखेका हुन् ।
यस्तो छ पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार, सिंहदरबार, काठमाडौँ।
विषय: परदेशको पीडा, देशको बेवास्ता र शासनप्रति गम्भीर चिन्ता।
म राम चन्द्र गिरी, स्थायी ठेगाना गोरखा जिल्ला, हाल कतारमा श्रम गरिरहेको एक नेपाली नागरिक, यो चिठी तपाईंको ध्यानाकर्षणका लागि लेखिरहेको छु। खाडी मुलुकको तातो बालुवामुनि दिनरात पसिना बगाउँदै, जीवन जोगाउँदै, देश सम्झिरहेको हामी परदेशी नेपालीहरूको पीडामाथि सरकारको ध्यान कहिल्यै पुगेको महसुस भएन। राज्यले हामीलाई केवल रेमिट्यान्स पठाउने यन्त्रझैँ सम्झिएको छ, भावनासहितको नागरिक कहिल्यै ठानेन।
प्रधानमन्त्रीज्यू,
केही दिनअघि तपाईंको सार्वजनिक अभिव्यक्तिमा पाकिस्तान र भारतजस्तो दुई परमाणुशक्ति राष्ट्रबीचको युद्धको संवेदनशीलतालाई समेत हल्का र हास्यास्पद बनाउँदै गरिएको टिप्पणी हामीजस्ता आम नागरिकका लागि लाजमर्दो बन्यो। यस्तो गम्भीर विषयमा बालसुलभ व्यङ्ग्य गर्ने प्रधानमन्त्रीबाट हामीले अब राष्ट्रनिर्माणको कस्तो नेतृत्वको अपेक्षा गर्ने?
गरिब भनिने पाकिस्तानले समेत आज भारतलाई कूटनीतिक र सैन्य रूपमा टक्कर दिइसकेको छ, तर हामी भने दिनहुँ परनिर्भरता, बेरोजगारी, भ्रष्टाचार र राजनीतिक अस्थिरतामा फसेका छौँ। तपाईंको नेतृत्वमा हामीले भाषण, जोक्स र आश्वासनबाहेक केही पनि पाएनौँ। अब त तपाईंले बनाएको "कमेडी दरबार" हेर्दा हामीलाई लाज लाग्न थालेको छ।
आफ्नै देशमा शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको अवस्था दिनानुदिन जर्जर बन्दै गएको छ। हामीले तपाईंबाट आशा राख्ने ठाउँ नै बाँकी छैन। तपाईं कहिले जिम्मेवारी लिनुहुन्छ, वा कहिले राजीनामा दिने हो भन्ने प्रतीक्षा मात्र बाँकी छ। तपाईंको शासकीय शैलीले हामीलाई तिरस्कृत र अपमानित बनाएको छ।
यहाँ खाडी मुलुकमा लाखौँ नेपालीहरूले देशका लागि रेमिट्यान्स पठाइरहेका छन्। हामी नै हौँ, जसको पसिनाले देशको अर्थतन्त्र चलेको छ। तर हामीलाई न राज्यले हेर्यो, न समाजले सम्झियो। महिनौँ तलब नपाउने, बिरामी हुँदा उपचार नपाउने, मृत्युपछि घर फर्कन लासलाई समेत फाइलको झन्झट खेप्नुपर्ने अवस्था छ। यस्तो तिरस्कृत जीवन बाँच्छौँ हामी — परदेशमा, नेपाली भएर।
प्रधानमन्त्रीज्यू,
हामी विलासी सुविधा होइन, न्यूनतम सम्मान र अधिकार मागिरहेका छौँ। हाम्रो जीवनको मूल्य राज्यले बुझोस्। शासनमा बस्नेहरूले शासनको मर्यादा र जिम्मेवारी आत्मसात् गरोस्। अन्त्यमा, रवि लामिछानेप्रति तपाईंको सरकारको क्रियाकलापले हामीलाई झन् निराश तुल्याएको छ। गल्ती भए कानुनी प्रक्रिया चलोस्, नभए निर्दोषलाई किन पछ्याउने? राजनीतिमा प्रतिसोधको प्रयोग गर्नुहुन्छ भने न्याय र लोकतन्त्रको आधार नै खण्डित हुन्छ। यसरी सत्ताको दुरुपयोगले देश बन्छ कि झन् बर्बाद हुन्छ? रामचन्द्र गिरी
हाल कतार




















