मधेश आन्दोलन २०६३ का सक्रिय अगुवा तथा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता हिरालाल मण्डल र माओवादी केन्द्रका पूर्वप्रदेशसभा उम्मेदवार राजेन्द्र मण्डल आज औपचारिक रूपमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन ।
विराटनगरमा भइरहेको जसपा नेपालको जिल्ला अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा पार्टी प्रवेश गरेका हुन्।
रङ्गेली क्षेत्रको राजनीतिक आन्दोलनमा लामो योगदान दिएका हिरालाल मण्डल फोरमपछि लोसपामा सक्रिय रहँदै केही समय शरदसिंह भण्डारीसँग समेत आबद्ध रहे। त्यसपछि उनले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानको केन्द्र सदस्यको रूपमा भूमिका निर्वाह गरेका थिए। अहिले भने उनी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फर्किएपछि “राजनीतिक घर फर्किएको अनुभूति भएको” बताएका छन्।
त्यस्तै, धनपालथान गाउँपालिकाका नेतासमेत रहेका राजेन्द्र मण्डलले पनि आजै जसपा प्रवेश गरेका छन्। उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा “क” उम्मेदवार थिए। स्थानीय तहमा माओवादी नेतृत्वलाई सुदृढ बनाउन सक्रिय भूमिका खेलेका उनले “नवीन विकल्पको खोजीमा जसपामा आएँ” भनेका छन्।
दुबै नेताको आगमनले मोरङको मधेस क्षेत्रमा जसपा नेपाल थप सशक्त र संगठित हुने अपेक्षा गरिएको छ। पार्टीमा प्रवेशको अवसरमा जसपा नेताहरूले स्वागत गर्दै मधेसको मुद्दालाई नयाँ ऊर्जा दिने प्रतिबद्धता जनाएका छन्।




















