जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् ।

शनिबार जनकपुरधाममा समाजवादी महिला संघ नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन २०८२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय गणतन्त्रलाई समाप्त गर्न सडकदेखि सदनसम्म लोकतन्त्र विरोधीहरु षडयन्त्र गरिरहेको बताए । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नभए समानता पनि नहुनेमा जोड दिए ।

विगतको २५० वर्षको निरङ्कुश शासनमा महिलाहरुका लागि समानता कतै नभएको उनले बताए । ‘पहिलाको तुलनामा अहिले महिलाहरुले हरेक निकाय, क्षेत्रमा आफ्नो हक अधिकार पाइरहेका छन्, ती सबै मधेश आन्दोलनबाट प्राप्त संघीयताको हो,’ अध्यक्ष यादवले भने ।

उनले अहिले महिलाको ३३ प्रतिशत सहभागिता भएपनि राज्यको हरेक अंगमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिए । समानताको परिकल्पना जनता समाजवादी पार्टीबाहेक अन्य कुनै पार्टीमा नभएको उनको भनाई थियो ।

त्यस्तै, उनले मुलुक मन्त्री र प्रधानमन्त्रीले नभई विचौलियाहरुले चलाइरहेको आरोप लगाए । कमिसन खोर, दलाल र विचौलियाहरुले सबै नियुक्ति र बजेट निर्माणका कार्यहरुमा कब्जा गरेको उनले आरोप लगाए । सरकारले २६ खर्ब बढी वैदेशिक ऋण लिएपनि त्यो ऋण कहाँ खर्च हुँदैछ भन्ने कसैले बुझ्न नसकेको उनले उल्लेख गरे । विश्व बैंकले खर्बौ खर्ब रुपैयाँ अनुदान दिए पनि देश विकास हुन नसक्नुमा भ्रष्ट्राचार मुख्य कारण भएको यादवको भनाई छ ।

अध्यक्ष यादवले मुलुक अहिले राजनितिक रुपमा संकट र आर्थिक रुपमा जर्जर अवस्थामा रहेको टिप्पणी गरे । सरकारले संविधान संशोधन गर्ने नाममा जनतालाई ठग्ने काम मात्र गर्दै आएको उनको आरोप छ ।