जनकपुरधाम ।   जनता समाजवादी पार्टी जसपा नेपालको धनुषा जिल्ला नेतृत्वका लागि शनिवार मतदान हुने भएको छ ।

जसपा नेपालले राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको वर्ष दिन भित्र जिल्लाको अधिवेशन सम्पन्न गर्न लागेको छ । जिल्ला अधिवेशनको विहीवार उद्घाटन समारोह सम्पन्न भएपछि शुक्रवार बन्द सत्र सम्पन्न भएको जिल्ला अध्यक्ष पशुपति यादवले जनाएका छन् ।

एमालेले धनुषा जिल्ला नेतृत्व चयन गर्न गत मंगलवार कुटाकुट गरेको महेन्द्रनारायण निधि स्मृति भवनमा जसपा नेपालको चुनावी प्रकृया सुरु भएको छ । जिल्लाको ७ पदाधिकारी र ५० जना सदस्य समेत ५७ पदका लागि शुक्रवार उम्मेदवारी दर्ता गरिएको छ ।

निर्वाचन समितिका संयोजक रामअशिष यादवले जनाए अनुसार शनिवार दिउँसो ३ बजेदेखि मतदानको समय निर्धारण गरिएको छ । उनले जनाए अनुसार अध्यक्ष १, उपाध्यक्ष २, सचिव १, सहसचिव २ र कोषाध्यक्ष १ गरी ७ जना पदाधिकारीमा र २५ जना खुल्ला र २५ जना आरक्षितगरी ५० जना सदस्य पदका लागि उम्मदेवारी परेको छ ।

‘पार्टीको विभिन्न पदहरुमा उम्मेदवारी दिएका नेताहरुबीच सहमतिको प्रयासपनि भइरहेको छ ’ उनले भने, उम्मेदवारहरुबीच सहमति हुन नसके मतदानबाट नेतृत्व चयन हुनेछ । यादवको संयोजकत्वमा महाजन यादव, चन्देश्वर सदा, सीता यादव र प्रेमचन्द्र झा सदस्य रहेको निर्वाचन समितिले काम सुरु गरिसकेको छ । राति उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । अध्यक्ष पदमा ५ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।

वर्तमान अध्यक्ष पशुपति यादव, गत चुनावमा प्रतिपष्धी रहेका सत्रुधन यादव र चन्देश्वर महतोले फेरी अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।मुखियापट्टी मुसरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव र अक्षय कुमार यादवले उम्मेदवारी दिएको निर्वाचन समितिका संयोजक यादवले जनाएका छन् । 

त्यसैगरि २ जना उपाध्यक्षका लागि जिवछ यादव, ललित कुमार मण्डल, दिनेश प्रसाद यादव, राम पुकार यादव, राम शंकर पासमान र अब्दुल मनान राईनले उम्मेदवारी दर्ता गराएका छन् ।

१ जना सचिवका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।सचिवमा उम्मेदवारी दिनेहरुमा सीताराम यादव, राम एकवाल शर्मा, राम नारायण कापरी, धमेन्द्र कुमार गोइत, उमेश प्रसाद महतो, संजय कुमार यादव र दिपेन्द्र कुमार कापरी रहेका छन् ।

 २ जना उपसचिव पदका लागि राम बिहारी यादव, श्याम कुमार राउत, सीता कुमारी देवी मण्डल, बेचन महतो, शशि चन्द्र यादव र दिनेश महतोको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

१ जना कोषाध्यक्षका लागि ३ जनाले मात्र उम्मेदवारी दिएका छन् ।कोषाध्यक्षमा सुजिता यादव, मो. नजमुद्दिन अंसारी र अशोक कुमार यादवको उम्मेदवारी दर्ता भएको छ । 

आरक्षित समेत ५० सदस्यका लागि हुने चुनावमा ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपा नेपालमा उम्मेदवारी दिनेको संख्या कम रहेको बताइन्छ । निर्वाचन समितिका अनुसार धनुषामा कुल ३ सय ३१ जना मतदाता रहेका छन् । त्यस मध्ये ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

७ जना पदाधिकारीका लागि २७ जनाको उम्मेदवारी परेको छ ।त्यस मध्ये कोषाध्यक्षमा १ जना महिला सुजिता यादवले मात्र उम्मेदवारी दिएकी छन् ।समानुपातिक र समावेशीको लागि लड्ने जसपा नेपालमा भने त्यसको अभ्यास हुन अझै समय लाग्ने देखिन्छ । 

साधारण चोटपटक त धेरैलाई लागेको थियो । त्यसबाट जसपा नेपालका नेताहरु सतर्क देखिएका छन् ।निर्वाचन समितिका संयोजक रामअशिष यादवले जनाए अनुसार नेताहरुबीच सहमति भए बाहेकको अवस्थामा चुनाव पूर्ण निष्पक्ष रुपमा सम्पन्न गराइनेछ जिल्ला अधिवेशन उद्घाटनका लागि जनकपुरधाम आएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रवारको बन्द सत्रमा पनि सहभागी भएका थिए । उनीसँगै उपाध्यक्ष लालबाबु राउत लगायतका नेताहरु बन्द सत्रमा सहभागी भएका थिए । जिल्ला नेतृत्व चयन नभए सम्म अध्यक्ष यादव जनकपुरधाममै रहने बताइएको छ । 

पछिल्लो पटक भएको जिल्ला अध्यक्षको चुनावमा शान्तिपूर्ण ढंगले मतदान र नतिजा सार्वजनिक भएको थियो ।यस पटक पनि चुनावबाट नै नेतृत्व चयन भए पनि शान्तिपूर्ण रुपमा हुने नेताहरुले दावी गरेका छन् ।