जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीति तीन ध्रुवमा ध्रुविकृत हुँदै गएको बताएका छन ।
जसपा नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अग्रगामी, यथास्थितिवादी र पश्चगामी गरि तीन ध्रुवमा राजनीतिक विभाजन भएको बताए ।
उनले अग्रगामी शक्ति जनआन्दोलन, सशस्त्र विद्रोह र मधेश आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समावेशीता, नागरिक स्वतन्त्रता र मौलिकहकको रक्षाका लागि दृढ रहे पनि यथास्थितिबादीहरु लोकतान्त्रिक मुल्य मान्यतालाई स्वीकार्य गरे पनि संघीयता र समावेशीतालाई पचाउन नसकेको जिकीर गर्नु भयो ।
पछिल्लो समयमा पश्चगामी शक्तिहरु समेत टाउको उठाउन थालेको भन्दै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा , समावेशिता र नागरिक स्वतन्त्रताको पक्षमा चट्टानी अडानका साथ जसपालाई उभिनु पर्ने अवस्था आएको बताए ।राजनीतिक खिचातानीका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएपनि समानता, भागेदारी र समानुपातिक प्रतिनिधित्वको समस्या अझै कायम रहेको बताए ।
अग्रगामी शक्तिहरु कमजोर हुँदा यथास्थितिबादी र पश्चगामी शक्तिहरु प्राप्त उपलब्धिलाई संकटमा पार्ने दुस्साहस गर्न थालेको भन्दै उनले त्यस्तो दुश्प्रयास आफुहरु सफल हुन नदिने समेत बताए ।
धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जसपाका केन्द्रिय उपमहासचिव , प्रतिनिधिसभा सदस्य दिपक कार्र्की, प्रदेश अध्यक्ष बालकिशोर यादव सहितका केन्द्रिय , प्रदेशका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशन नयाँ नेतृत्वको चयन गर्दै भोली सम्पन्न हुने आयोजकले जनाएका छन ।























