सिरहा - सिरहाको नवराजपुर गाउँपालिकाले आफ्नै आर्थिक विधेयक बनाएर लागू गरेको छ । गाउँपालिकाले विधेयकमा फोहोर गर्नेदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्नेसम्मलाई आर्थिक कारबाही गर्ने व्यवस्था गरेको छ ।
गाउँपालिकाले बुधबारदेखि आर्थिक विधेयक, २०८१ लागू गर्दै सार्वजनिक जग्गा अतिक्रमण गरेमा, जथाभावी फोहोर फालेमा, पशुचौपाया छाडा छाडेमा, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएमा र अन्य कानुनविपरीतका कार्य गर्नेलाई कारबाही गर्ने जनाएको हो । यी कार्य गरेको भए सात दिनभित्र सच्चिन गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाकाअनुसार, सार्वजनिक स्थल तथा सडकमा जथाभावी फोहोर मैला फालेमा ५ सयदेखि २५ सयसम्म, छाडा छाडिएको पशु चौपायाले हानिनोक्सानी पुर्याएमा सो बराबरको क्षतिपूर्ति तिराउने व्यवस्था गरिएको छ । यस्तै, सार्वजनिक जग्गा अतिक्रमण गरेमा प्रथम पटक १० हजार र अर्कोपटक १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।
तर, सार्वजनिक जग्गामा विगतदेखि बसेका भूमिहीन व्यक्तिहरुको हकमा भने यो लागू हुने छैन । यस्तै, सार्वजनिक पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गरेमा र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएमा ५० हजारदेखि ५ लाखसम्म जरिवाना गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गराउँदा निःशुल्क हुने र समय नाघेर दर्ता गराउनेलाई ५० रुपैयाँ जरिवाना गरिने व्यवस्था पनि गरेको छ । यो विधेयक लागू भएपछि सार्वजनिक जग्गा र सडक अतिक्रमणको समस्या हदसम्म समाधान हुने गाउँपालिका अध्यक्ष शिवउदगार यादवले बताए ।




















