हेटौंडा : हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन । घटनाको अध्ययनका लागि मंगलबार आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधवार काठमाडौं फर्किएको छ । 

भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । विभागका भूगर्भविद् कृष्ण पाण्डेका अनुसार उक्त क्षेत्र वरपरका जमिन तरलिकृत रहेको बताए । 

जमिनको माथिल्लो तह केही मिटर चिम्ट्याइलो रहेको र तल्लो तहको माटोमा बालुवा र पानी मिश्रित रहेको पाइएको उनले बताए । उनले टोलीले ६ मिटर गहिराइसम्मको माटोको नमुना संकलन गरेको छ । संकलन गरिएको माटोको विभागको ल्यावमा परीक्षण पश्चात् उक्त क्षेत्रको भुगर्भिय रिपोर्ट तयार पारिने बताए ।