सिरहा : सिरहाको लहान नगरपालिका-१७ बलान खोलाको बगरबाट प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र वडा-१६ का २२ वर्षीय जितेन्द्र यादव पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १०० एमएलको ४४३ बोतल ओनरेक्स नामक लागूऔषध बरामद गरेका छन् । उनीहरु भारतीय बजारबाट लागूऔषध खरिद गरि लहान बजार आइरहेको जानकारी प्रहरीले पाएपछि चेकजाँच सुरु गरेका थिए । टाउको र पिठ्युँमा बोराको पोका बनाएर बोकेकै अवस्थामा उनीहरु पक्राउ परेका छन्

सन्तोषको साथबाट १२० बोतल, जितेन्द्रबाट १२० बोतल, लुकाएर राखेको एउटा बोराको पोकाबाट ११३ र अर्कोबाट ९० बोतल गरि ४४३ बोतल लागूऔषध बरामद भएको हो ।
सोही स्थानबाट प्रहरीले म.प्र.०१-००४प ५९८५ र स ३ प १७२ नम्बर भएको दुई थान मोटरसाइकल पनि नियन्त्रणमा लिएका छन् । मोटरसाइकल, बरामद लागूऔषध र पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।