काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवसीय नेपाली संघ(एनआरएनए)को एकतामा आफूले अधिकतम प्रयास गरेको बताएका छन् ।
आइतबार एनआरएनए एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी एवम सदस्यहरुको शपथ समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा या नहुँदा एकताका लागि अधिकतम प्रयास गरेको बताएका हुन् ।
‘एनआरएनएको एकता चासो र चिन्ताको विषय थियो । मुलुक विकासको काममा यसले धक्का पुग्ने हो कि भन्ने चिन्ता थियो । सोही भएकाले एकताका लागि धेरै प्रयास गरेको हुँ । यसअघि तीन अध्यक्षलाई सँगै राखेर हस्ताक्षर गराएरै एकताका लागि प्रयास गरेको हुँ । आज शेष घलेले अदालतको आदेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्नुभएकोमा बधाई दिन चाहन्छु,’ उनले भने,‘एकता महाधिवेशन गराउन र विना झमेल निर्वाचन सम्पन्न गराउनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।
संविधान निर्माणकै बेलादेखि गैरआवसीय नेपालीहरुको हक अधिकारका लागि क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,‘संविधानमा गैरआवसीय नेपालीहरुको हक अधिकार सुनिश्चित गर्ने प्रयास गरेको छु । संविधानको मुल मर्म र भावना अनुसार नागरिकता प्रदान गर्ने प्रयास अघि बढायौं । मेरो तेस्रो कार्यकालमा प्रधानमन्त्रीको हैसियतमा कुल आचार्य र डा.बद्री केसीलाई नागरिकताको प्रमाण पत्र वितरण गर्ने अवसर पाएको छु । त्यो मेरो र सबैको गर्वको विषय हो,’ उनले भने,‘तर नागरिकता कामकाजी भएको छैन् । त्यसैले कामकाजी बनाउने प्रयास गरिनेछ । यो मेरो प्रतिबद्धता भयो ।’
कार्यक्रममा उनले विश्वभरि छरिएर रहेका गैरआवसीय नेपालीहरुका लागि र देशभित्रै रहेका श्रमिकहरुका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रयास गरेको बताए । आफू प्रधानमन्त्री भएको बेला गोर्खाहरुको मुद्दामा पटक पटक पहलकदमी लिएको दाबी गरे ।
अध्यक्ष प्रचण्डले गैरआवासीय नेपालीहरुका मुद्दाहरुलाई सदनमा कुरा उठाउने पनि बताए । उनले नेपालमा सुशासन, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासमा काम गर्नुपर्ने भएकाले एनआरएनएको नेटवर्क, ज्ञान, अनभव र रिसोर्सले मुलुकको समृद्धिमा सहयोग पुग्ने बताए ।सम्बोधनका क्रममा एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठको टीमलाई बधाई समेत दिए ।

















