कतारमा नेपाली कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सी पुरस्कृत
दोहा - कतारमा एक नेपालीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सीले 'कतार सीएसआर अवार्ड-२०२५' अवार्ड पाएको हो ।
बुधबार दोहामा आयोजित सीएसआर समिटका अवसरमा सीएसआर प्रमुख सैफ अलि अलहजरीको हातबाट यासमिनले अवार्ड ग्रहण गरिन् । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीको संरक्षणमा कतार विश्वविद्यालयलगायतले यो पुरस्कार वितरण गर्छ ।
सीएसआर अवार्ड कतारको सामाजिक क्षेत्रमा योगदान पुर्याउने कम्पनी तथा संस्थाहरूलाई प्रदान गरिन्छ । योसँगै यासमिनको कम्पनी सीएसआर अवार्ड प्राप्त गर्ने पहिलो नेपाली स्वामित्वको संस्था बनेको छ ।
यासमिनको कम्पनीले कतारमा रहेका नेपालसहित भारत, फिलिपिन्स, श्रीलंका, अफ्रिकालगायतका देशका विभिन्न क्षेत्रमा कार्यरत कामदारलाई सशुल्क तथा नि:शुल्क रूपमा सिपमूलक र वृत्ति विकासका लागि तामिल प्रदान गर्ने काम गर्दै आएको छ ।
यो अवार्ड आफ्नो कम्पनीको मात्र नभई नेपालकै लागि गर्वको विषय भएको यासमिन बताउँछिन् । 'हामीलाई विदेशमा हेर्ने दृष्टिकोण फरक छ तर यसले हामी पनि अब्बल, सक्षम अनि सबै कुराको हकदार हौं भन्ने कुराको सन्देश दिएको छ, यो नेपालकै लागि गर्वको विषय लाग्छ ।'
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्