जनकपुरधाम - जनता समाजवादी पार्टी नेपाल धनुषाको जिल्ला अधिवेशन वैशाख २५ र २६ गते जनकपुरधाममा हुने भएको छ।
जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन जनकपुरधामको महेन्द्र नारायण निधी मिथिला साँस्कृतिक भवनमा गर्ने निर्णय गरेको जिल्ला सचिव वरुण कुमार यादवले जनाएका छन ।
अधिवेशनमा करिब ३ सय प्रतिनिधि सहभागी हुने सचिव यादवले बताए । उनले भने ,‘ कृयाशिल सदस्यताको अनुपातमा करिब ३ सय प्रतिनिधि अधिवेशनमा सहभागी हुने भएका छन । भातृ संगठनहरुबारे निर्णय गर्न बाँकी रहेकाले केही प्रतिनिधि थपिन सक्छ ।
जसपा नेपालले बैशाख महिना भित्र देशभरि नै अधिवेशन सक्न दिएको निर्देशन अनुरुप जिल्ला जिल्लाहरुमा अधिवेशन भै रहेको छ ।
अधिवेशनको मिति निर्धारण भए संगै अध्यक्षका आकांक्षीहरुले आफनो दौडधुप तीब्र पारेका छन । जसपा नेपाल धनुषाको जिल्ला अध्यक्षका लागि अहिले सम्म वर्तमान जिल्ला अध्यक्ष पशुपति यादव , संगठन विभाग प्रमुख सत्रुधन यादव, सचिव वरुण कुमार यादव, मुमु गापाका अध्यक्ष जयकुमार यादव र जनकनन्दनी गापाका अध्यक्ष दिपीन यादवले आ–आफनो उम्मेदवारी घोषणा गरेका छन ।
अध्यक्ष पशुपति यादवले संगठनलाई चुस्त दुस्त बनाउन आफु अध्यक्षमा दोहरिन चाहेको बताएका छन । उनले अगामी निर्वाचनलाई ध्यानमा राख्दै संगठन निर्माण, एकजुटता , गुटको अन्त्य र आन्तरिक अनुशासन कायम गराउने लक्ष्यका साथ उम्मेदवारी घोषणा गरेको बताएका छन ।
त्यसै गरि संगठन विभाग प्रमुख एवं अध्यक्षका आकांक्षी सत्रुधन यादवले आफु सहमतिमै अध्यक्षको चयन होस भनि आकांक्षा राखेको बताए । उनले निर्वाचन प्रक्रियामै गए आफनो उम्मेदवारी रहने र सहमतिमा बाधक नबन्ने बताएका छन । उनले संगठन भित्र देखिएको कमी कमजोरीलाई अन्त्य गर्न आफु उम्मेदवारी घोषणा गरेको बताएका छन ।
त्यसै गरि जय कुमार यादवले जसपा नेपाललाई जिल्लामै पहिलो बनाउन आफनो उम्मेदवारी रहने बताएका छन । सहमतिको लागि आफु सक्दो प्रयास गर्ने बताउदै यादवले निर्वाचन नै हुने अवस्था आए आफनो पनि उम्मेदवारी रहने बताएका छन ।
अध्यक्षका आकांक्षीहरु अहिले केन्द्रिय नेतृत्व संगको समन्वय र प्रतिनिधिहरु संगको भेटघाटलाई तीब्र बनाएका छन । नयाँ नेतृत्वको काँधमा अगामी निर्वाचन समेत आउने भएकाले आकाँंक्षीहरु आ–आफनो प्रचार प्रसारलाई तीब्र बनाएका छन ।




















