विनोद मण्डल

सिराहा - सिराहा जिल्लाको लहान नगरपालिका वडा नं. १६ अन्तर्गत पर्ने भसुवा गाउँको माथिल्लो भेगमा अवस्थित कुण्डलेश्वर महादेव धार्मिक स्थल विकासको लामो प्रतीक्षामा रहेको छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको यो क्षेत्र उचित संरचना र प्रवर्द्धनको अभावमा ओझेलमा परेको छ ।

स्थानिय जनप्रतिनिधि भाईकाजी खड्काको पहलमा हालसम्म कार्यालय व्यवस्थापनका लागि केही रकम विनियोजन भई अस्थायी बाटो निर्माण गरिएको भए पनि त्यो प्रयाप्त देखिएको छैन । खासगरी वर्षातको समयमा बाटोमा हिलो र फुस्रो माटोले गर्दा तीर्थालु र पर्यटकलाई आवागमनमा निकै कठिनाइ हुने गरेको छ । थप मर्मत तथा स्तरोन्नतिको आवश्यकता तत्काल देखिएको स्थानियले बताएका छन् । कुण्डलेश्वर महादेव स्थान प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ । यहाँको ढुंगामाटोमा विभिन्न देवी–देवताका आकृति स्वतः प्रकट जस्तै देखिन्छन्, जसले यो स्थानलाई धार्मिक पर्यटकहरूको लागि महत्वपूर्ण गन्तव्य बनाउन सक्छ । यद्यपि, प्रचारप्रसार र पूर्वाधार विकासको कमीले यसको समुचित पहिचान स्थापित हुन सकेको छैन । स्थानीय बासिन्दाहरूले बताउने गरेका छन् कि साउन महिनामा विशेषगरी कुण्डलेश्वर महादेव मन्दिरमा ठूलो मेला लाग्ने सम्भावना हुन्छ । यदि समयमै आवश्यक पूर्वाधार तयार पार्न सकियो भने यो क्षेत्र धार्मिक पर्यटनको आकर्षक केन्द्र बन्न सक्ने देखिन्छ । यसले स्थानीय रोजगार सिर्जना, आर्थिक वृद्धिलगायत समग्र गाउँको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । सिराहा जिल्लाको अन्य क्षेत्रमा जस्तै भसुवाको यो भागमा पनि स्थानिय निकाय र प्रदेश सरकारको ध्यान जान नसक्दा महत्त्वपूर्ण सम्भावनाहरू ओझेलमा परेका छन् । यथाशीघ्र सडक मर्मत, पक्की बाटो निर्माण, मन्दिर संरक्षण, पानी, विजुली जस्ता आधारभूत सुविधा विस्तार र प्रचारप्रसारमा जोड दिन सकेमा कुण्डलेश्वर महादेव क्षेत्रले आगामी दिनमा ठूलो पर्यटकीय चहलपहल भोग्न सक्नेछ । यस क्षेत्रमा धार्मिक महत्त्वसँगै, प्रकृतिको अपार सुन्दरता पनि पाइन्छ, जसले पर्यटकलाई रमाउने अवसर प्रदान गर्छ । यही सम्भावनालाई ध्यानमा राखेर सम्बन्धित निकायले साधन स्रोत परिचालन गरी तत्काल विकासको खाका कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ ।