कश्मीर : जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ।
उनी नेपालका कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन। मंगलबार दिउँसो ३ बजे बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरै जना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर-ए-तैयबा समूहले लिएको छ।
पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटकहरु रहेका छन्। विदेशी पर्यटकहरु नेपालका एकजना र युएईका एक जना रहेका जनाइएको छ। साथै मृत्यु हुने आन्तरिक पर्यटकहरू भारतको उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेका छन्।
घटनामा दुई स्थानीयको पनि मृत्यु भएको छ। आक्रमणको खबर पाउनेबित्तिकै साउदी अरेबियाको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदी आफ्नो भ्रमण बीचमै छोडेर भारत फर्कदैछन्। उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक गर्नेछन्।
अमेरिका, इरान, रुस, इटाली, युएई र अन्य देशहरूले पहलगाम आक्रमणको निन्दा गरेका छन्।




















