काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन्।
डा. बद्री केसी र डा. हेमराज शर्मासहित अन्य सम्पूर्ण पदाधिकारीलाई प्रतिवादी बनाई मगरले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्।
सर्वोच्च अदालतको स्पष्ट आदेशअनुसार संघको सम्पूर्ण जिम्मेवारी उच्चस्तरीय समितिलाई हस्तान्तरण गरिनुपर्ने थियो। तर, केसी नेतृत्वको टोलीले सो आदेशको खुला अवहेलना गरेको आरोप लगाएको छ।
सचिवालयले तीन पटकसम्म पत्र पठाएर कार्यान्वयनका लागि आग्रह गरेपनि कुनै कदम नचालिएको तथा उच्चस्तरीय समितिले स्वयम् जिम्मेवारी लिन सम्पर्क गर्दा समेत बेवास्ता गरिएको निवेदनमा उल्लेख छ।
अध्यक्ष गाहा मगरले भने, हामीसँग अब विकल्प थिएन। अदालतको आदेशलाई निरन्तर बेवास्ता गरिँदै आएकोले हामीले अन्ततः सर्वोच्च अदालतमा पुनः मुद्दा दर्ता गर्न बाध्य भयौं।अब यस विषयमा सर्वोच्च अदालतको हस्तक्षेप र स्पष्ट निर्देशनले मात्र पारदर्शिता र विधिको शासन पुनः स्थापना गर्ने अपेक्षा गरिएको गाहा मगरले जनाए ।
‘उल्लेखनीय कुरा के छ भने, एनआरएनए यूकेले मात्र संघको भवन खरिदमा ४ करोड रुपैयाँभन्दा बढी आर्थिक योगदान दिएको छ, जुन सम्पूर्ण विश्वभरका गैरआवासीय नेपालीहरूको योगदानबाट बाहिरिएको एक ठूलो हिस्सा हो। यस्तो अवस्थामा पारदर्शिता र जवाफदेहिताको अभाव हुनु सदस्यहरूप्रति गम्भीर उपेक्षाको संकेत हो’ उनले भने ।





















