काठमाडौं । शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले मे ३ देखि ५ मा हुने महाधिवेशनको तयारीबारे जानकारी गराएको छ।
घले नेतृत्वको उच्चस्तरीय समितिले आज पत्रकार सम्मेलन गरी ६३ हजार ३ सय ३९ जना सदस्य भएको दाबी गरेको छ। समितिका अनुसार अधिवेशनका लागि अहिलेसम्म २ हजार ७ सय ७२ जनाले डेलिगेट्स हुन चाहेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक एवम् एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले दैवी प्रकोप र काबुभन्दा बाहिरको परिस्थिति बाहेक अधिवेशन नरोकिने बताए।उनले आफूहरूको संघर्ष संस्थालाई कसरी सुधार्ने भन्नको लागि रहेको समेत दाबी गरे।
'हामी अब पुरानो एनआरएनएमा फर्किने होइन। नयाँ एनआरएनए बनाउने हाम्रो अभियान हो,' उनले भने, '२२ वर्षमा एनआरएनएका ९० हजार सदस्य भएकोमा डेढ महिनामै हाम्रो अभियानमा झण्डै ७० हजारले चाहना राख्नु सानो कुरा होइन।'
आफूहरू अदालतको परमादेशका आधारमा चलेको भन्दै उनले मिति संशोधन हुने वा तलमाथि गर्ने छुट कसैलाई नहुने बताए।एनआरएनएको अधिवेशनका लागि राष्ट्रिय समन्वय परिषद (एनसिसी) को अधिवेशन गर्नैपर्छ भन्ने केही नरहेको उनले बताए।
केही देशमा बाहेक धेरै देशमा एनसिसीहरू दर्ता नै नभइकन चलेकाले उनीहरूको सहभागिता हुनु/नहुनुले अर्थ नराख्ने समेत उनले बताए।

















