सिराहा - सिराहाको नवराजपुर गाउँपालिका– ३ जगतपुरकी यौन दुर्व्यवहारपीडित २५ वर्षीया आनन्दीदेवी सदाय घरभित्रै मृत भेटिएको घटना प्रकरणमा मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी निरीक्षक विक्रम साह र एकजना प्रहरी सहायक हवल्दार सदस्य छन् ।
समितिले बिहीबारदेखि नै काम थालिसकेको जानकारी दिँदै उनले यौन दुर्व्यवहारपीडितले दिएको जाहेरी ढिलो दर्ता गरिएको, घटनासँग सम्बन्धित अन्य पक्ष र स्थानीय प्रहरीको भूमिकाको विषयमा छानबिन गरिनेछ ।
‘घटनापछि प्रहरीले जाहेरी दर्ता गर्न ढिलाइ गरेको कुरा पनि मिडियामा आएका छन्,’ उनले भने, ‘छानबिन समितिले त्यो पाटोसहित घाउ जाँच केस, मेडिकल रिपोर्टसहितका विषयको सूक्ष्म छानिबन गर्नेछ । समितिले घटनामा दोषी औँल्याएका प्रहरी भए पनि कारबाही हुन्छ ।
त्यसबाहेक यौन दुर्व्यवहारका घटनामा संलग्न स्थानीय दुई युवकको जिल्ला प्रहरीसहित स्थानीय प्रहरी युनिटले खोजी गरिरहेकाले पक्राउ परेलगत्तै कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए ।
आनन्दीदेवी मृत्यु प्रकरण घटनाको छानबिन समितिका संयोजक रहेका एसएसपी कोइराला गत २७ माघमा सामूहिक बलात्कारपछि शंकास्पद अवस्थामा मृत झुन्डिएको भेटिएकी नवराजपुर– १ भगवतीपुरकी करिब १७ वर्षीया रिंकु सदायको घटनाको पनि छानबिन समिति संयोजक थिए ।
गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई तत्काल घटनाको यथार्थ छानबिन गरी दोषी पत्ता लगाउन निर्देशन दिएको भोलिपल्ट प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको हो ।

















