सिराहा - यौन दुर्व्यवहार घटनामा न्यायका लागि चार महिनादेखि भौँतारिइरहेकी सिराहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन् । तर उनको मृत्यु अघिका घटनाक्रम केलाउँदा कानुनी राज्यलाई नै गिज्याउने किसिमका काम भएको पाइएको छ ।
पुस ९ गते, बिहानको ११ बजिरहेको थियो । उनी बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेकी थिइन् । गन्तव्यतिर हिँडिरहेकी उनलाई गाउँकै पोखरी छेउको आँप बगैँचामा तानेर लगी लछारपछार गर्दै स्थानीय ३२ वर्षीय श्यामसुन्दर यादव र २२ वर्षीय सञ्जीवकुमार यादवले घेरा हाल्दै सामूहिक बलात्कार प्रयास गरे । रोइकराइ गर्दै उम्केर आनन्दी घर आइपुगिन् ।
घटनाबारे सुनाएपछि आमा बिल्टौन सदायले आनन्दीका पति नरहा गाउँपालिकास्थित बर्छबाका उमेश सदायलाई पनि खबर गरिन् । उमेश आएपछि सोही दिन उनीहरू इलाका प्रहरी कार्यालय, महेशपुर पतार पुगेर 'जबरजस्ती करणी उद्योग' शीर्षकमा जाहेरी दिए ।
तर, प्रहरीमा जाहेरी परेपछि किटान गरिएका आरोपितमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्नुको साटो आर्थिक लेनदेन गरी घटना गाउँमै मिलाउन प्रयास भएको भेटिएको छ । घटना गाउँमै मिलाउने प्रयासमा आरोपित, आरोपितका आफन्त र स्थानीय मात्रै होइन प्रहरी नै पनि संलग्न रहेको खुलेको छ ।

















