काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले काठमाडौंका सडकमा शिक्षकहरूको जारी आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेतृ झाँक्रीले शिक्षकहरूले विद्यालय छोडेर सडकमा प्रदर्शन गर्नुलाई ‘रमिता’को संज्ञा दिएकी हुन्। शिक्षकहरू र सरकारबीच संवाद गराउने प्रयास गरे पनि शिक्षकहरूले शिक्षा ऐन तत्काल पास हुनुपर्ने अडान लिएको र संवाद गर्न नचाहेको उनकाे भनाइ छ ।
‘अब चाहि शिक्षकहरूको रमिता बढी भयो। मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ।’ उनले भनेकी छन्, ‘के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें। मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसंग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे? शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र?
विधेयक पास गर्ने संसद र सरकारको आफ्नै कानुनी प्रक्रिया हुने भन्दै नेतृ झाँक्रीले आक्राेश पाेखेकी छन्, ‘के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले ?’
निजी विद्यालयहरूले भर्ना खोलेर कक्षा सञ्चालन गरिरहेको अवस्थामा सरकारी विद्यालय बन्द हुँदा विद्यार्थीहरू मर्कामा परेको उनको भनाइ छ।
उनले कतिपय विद्यालयको बीएलईको नतिजा शून्य आएकोमा चिन्ता व्यक्त गर्दै आगामी दिनमा सुधार गर्न छलफलमा रुचि देखाउन आग्रह गरेकी छन्। सरकारले ऐन ल्याउने प्रतिबद्धता जनाएको र सरोकारवाला सबैको चासो रहेको उल्लेख गर्दै उनले शिक्षकहरूले ध्यानाकर्षण गराउनु ठीकै भए पनि अब विद्यालय फर्केर आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेकी छन्।

















