राजविराज - शंकास्पद अवस्थामा मृत फेला परेकी सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी दलित युवतीको हत्या भएको भन्दै बुधबार जाहेरी परेको छ। मृतक २० वर्षीया पूजाकुमारी रामकी आमा रामबतीदेवी रामले इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएकी छन्।

नागेन्द्र रामकी छोरी पूजाकुमारी मंगलबार शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्। मृतककी आमा रामबतीदेवीले दिएको जाहेरी दर्ता भई अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

घटनापछि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुरको सहयोगमा सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक खतिवडाले बताए। ‘प्रारम्भिक अनुसन्धानले युवतीको हत्या भएको हुनसक्ने आशंका छ,’ उनले भने, ‘शव पोस्टमार्टमका लागि मंगलबार दिउँसो धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

उनका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि थप खुल्नेछ। सोमबार राति घरबाटै बेपत्ता भएकी पूजाकुमारी घरदेखि करिब एक किलोमिटर दक्षिण–पूर्वतर्फ तीनगछिया भन्ने ठाउँमा मृत भेटिएकी थिइन्।

पूजाकी आमा रामबतीदेवी अष्टयाममा सहभागी हुन गएपछि राति उनी आफ्नो भाइ विश्वजीतसँग घरमा सुतिरहेकी थिइन्। यतिकैमा पूजा बेपत्ता भएकी थिइन्।