सप्तरी सप्तरीमा एक दलित युवती मृत अवस्थामा भेटिएकी छन् । सुरुंगा नगरपालिकामा ७ रामटोलकी २० वर्षीया पूजाकुमारी राम शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् । आफ्नो घरदेखि पाँच सय मिटर दक्षिण तीनगछिया भन्ने ठाउँस्थित पोखरी छेउमा मृत भेटिएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।
‘युवती सोमबार राति आफ्नो १२ वर्षीय भाइ विश्वजीतसँग घरमा थिइन् । उनकी आमा रामबतीदेवी राम अष्टयाममा सहभागी हुन गएकी थिइन् । प्रहरी उपरीक्षक खतिवडाले भने, ‘विश्वजीत सुतेपछि पूजा एक्कासी हराएकी थिइन् ।’ खोजी गर्ने क्रममा मंगलबार बिहान शव भेटिएको उनले बताए ।
शंकास्पद अवस्थामा शव फेला परेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढाएका उनले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ उनले भने पोष्टमार्टमको रिपोर्ट आएपछि के भएको भन्ने थाहा हुने उनले बताए ।

















