विनोद मण्डल,
सिरहा - धनगढीमाई नगरपालिका–१२ स्थित सरे खोलाको किनारमा करिब ६ वर्षअघि सुरु गरिएको खानेपानी आयोजना आजसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सिरहा जिल्लाको यो महत्त्वपूर्ण आयोजना चरम प्रशासनिक लापरवाही, योजनाको कमजोर कार्यान्वयन, र सम्भावित भ्रष्टाचारको कारणले अलपत्र परेको हो । स्थानीयवासीहरू अझैसम्म पनि स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित छन् । उक्त आयोजनाका लागि निर्माण गरिएको ठूलो ट्याङ्की अहिले प्रयोगमा आउनु त परै जाओस्, यसको संरचनामै चिरा परेको छ । सुरुवातमै घटिया निर्माण सामाग्री प्रयोग गरिएको आशंका स्थानियहरूले व्यक्त गर्दै आएका छन् । वडाकार्यालय परिसरमै वर्षौंदेखि कालो पाइपहरू झाडीले छोपिएका छन् भने ट्याङ्की परिसरमा न सोलारको उचित जडान छ, न त भवनको सुरक्षा । खर्च भएको रकमको पारदर्शिता नरहेको र रंग-रोगनले बाहिरी भाग झिलिमिली पार्न खोजिए पनि भित्रभित्रै ट्याङ्की चिराचिरा परेको दृश्य स्पष्ट देख्न सकिन्छ । अझ गम्भीर त के छ भने, अहिले उक्त ट्याङ्की वरिपरि लागू औषध प्रयोगकर्ताहरूको जमघट हुने थलोमा परिणत हुँदै गएको छ । यसले सामाजिक सुरक्षामै खतरा थपिएको छ । स्थानीय बासिन्दाहरूले पटक–पटक गुनासो गर्दा पनि खानेपानी डिभिजन कार्यालय, राजविराजले कुनै गम्भीर चासो नदिएको आरोप छ । अब पनि सम्बन्धित निकायले तत्काल हस्तक्षेप नगरे स्थिति अझै भयावह बन्न सक्ने देखिन्छ । यो आयोजनालाई पुनः प्राथमिकतामा राखी, छानबिन समिति गठन गरिनु आवश्यक छ । साथसाथै ट्याङ्कीको गुणस्तरीयता परीक्षण, खर्च विवरण सार्वजनिक र पाइपलाइन व्यवस्थापनमा सुधार गरिनु आजको अत्यावश्यक माग हो ।

















