सिरहा - नेकपा एमाले सिरहाको ११औँ अधिवेशनबाट गरिएको नेतृत्व चयनमा असन्तुष्टि जनाउँदै एक वडाध्यक्षले पार्टी परित्याग गरेका छन् ।
गोलबजार नगरपालिका ६ का निर्वाचित वडाध्यक्ष सञ्जित भन्ने सञ्जीव लामाले एमाले परित्याग गरेका हुन् । उनले शनिवार राति फेसबुकमार्फत साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
स्रोतका अनुसार लामाकी बहिनी आशा योन्जन एमाले जिल्ला सह-सचिवमा दाबी गरेकी थिइन् । तर उनलाई बाइपास गरी खेमलक्ष्मी श्रेष्ठलाई सह-सचिव सर्वसम्मत चयन गरिएको छ । सोही कारण उनका भाइ लामा पार्टी परित्याग गरेका छन् ।
आशाले पनि सामाजिक सञ्जालमा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठमाथि आक्रोश पोखेकी छन् । उनले लेखेकी छन्, ‘निर्णायक तहमा रहनलाई श्रेष्ठ परिवारमा रहनु वा जन्म लिनुपर्छ । अन्यथा संगठनमा दासी भएर बस्नुपर्छ ।’
गोलबजार नेता श्रेष्ठको गृहनगर हो । उनकै भाइ श्याम श्रेष्ठ गोलबजारका मेयर हुन् । पार्टी परित्याग गरेका वडाध्यक्ष लामा नगरपालिकाका प्रवक्ता पनि छन् । लामाले पार्टी परित्यागसँगै वडाध्यक्ष पद पनि त्याग्ने बताएका छन् ।




















