पर्सा - पर्साको वीरगन्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद समाधानका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसिरहेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अहिले बैठक भइरहेको उनको सचिवालयले जनाएको छ। 

शनिबार दुई समुदायबीच झडप भएपछि वीरगन्जमा शनिबार साँझ ६:३० बजेदेखि आज आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ। 

यहीबीच पर्साका प्रशासन प्रमुख, प्रहरी प्रमुखको उपस्थितिमा राजनीतिक दललगायत सरोरकारवाला सबै पक्षलाई सहभागी गराई सर्वपक्षीय बैठक आयोजना गरिएको छ। बिहान साढे ७ बजेदेखि छलफल भइरहेको छ’, जिल्ला प्रशासन कार्यालयका ती कर्मचारीले भने। 

हुनमान जन्मोत्सवका अवसरमा वीरगन्जमा शनिबार दुवै समूहबीच ढुंगा हानाहान भएको हो। झडपमा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीतर्फ पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना तथा सशस्त्र प्रहरीतर्फ प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित ८ जना घाइते भएका छन्यस्तै सर्वसाधारणतर्फ १२ जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ।