काठमाडौं । शिक्षक आन्दोलनको भिड कहिले नयाँ बानेश्वरदेखि माइतिघर त कहिले माइतिघरदेखि नयाँ बानेश्वर ओहोरदोहोर गरिरहन्छ । त्यही भिडमा छन् शिक्षक देवेन्द्र प्रसाद साह कानु । जो भाइरल जादुगर शिक्षकको रुपमा परिचित छन् । आन्दोलनको भिडमा उनी केन्द्रमा रहेका छन् । शिक्षकहरुको झुण्डले उनलाई नै घेरेको देखिन्छ ।
साह आन्दोलनमा सहभागी शिक्षकहरुलाई जादूमाार्फत एकीकृत गर्न व्यस्त देखिन्छन् । आन्दोलन सुरु भएको आज ८ दिन भैसकेको छ । जब उनी जादू देखाउँछन्, थकित शिक्षकहरुमा जोश स्वतः भरिएर आउँछ । जब कोही व्यक्ति उनलाई देख्छ जसले पनि सजिलै अन्दाज लगाउन सक्छ कि उनी क्रिएटिभ पर्शनालिटी भएका व्यक्ति हुन् । सुरुवाती दिनदेखि नै शिक्षक देवेन्द्रको टाउकोमा तिन तला कागजको टोपी छ । जसमा लेखिएको छ, ‘शिक्षक एकता जिन्दावाद, हाम्रो माग पूरा होस्, नयाँ शिक्षा ऐन जारी होस्’ जस्ता नारा लेखिएको छ ।उनी भन्छन्, ‘तीन तलाको पेपर टोपीको संकेत तीन तहको सरकार हो ।
साह आन्दोलनमा सहभागी शिक्षकहरुको नजरमा मात्र परेका छैनन् । आन्दोलनको रिपोर्टिङ गर्न गएका मिडियादेखि बाटोमा हिँड्ने मानिसहरुले समेत उनको तारिफ गर्छन् । शिक्षकहरु कक्षाकोठामा विद्यार्थीलाई सिकाउँदा पनि अनेक क्रिएटिभ मेथोड अपनाउने गर्छन् ।
त्यस्तै, साहले आन्दोलनलाई रचनात्मक बनाउन जादू देखाउने कला प्रस्तुत गरिरहेका छन् । उनी भन्छन्, ‘आन्दोलनलाई रचनात्मक बनाउनका लागि जादू देखाएको हुँ । कतिले भन्छन् जादू देखाउन आएको कि आन्दोलन गर्न आएको ? म आन्दोलन गर्न नै आएको हुँ ।’
जादू मनोरञ्जनका लागि मात्र नभई शिक्षण विधि पनि भएको उनी मान्यता राख्छन् । साह अलि सजग हुन्छन् र भन्छन्- ‘सिकाईमा सधैं जादू विधि प्रयोग गर्न सम्भव हुँदैन । अवस्था अनुसार जादूलाई कसरी प्रयोग गर्ने भन्ने हुन्छ ।’ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक साह २ हजार भन्दा बढी थरीका जादू देखाउन आउने बताउँछन् ।कक्षा ८ मा हुँदा ६ थरीको जादू गुरुबाट सिकेको र अन्य जादू आफैं सिकेको साह बताउँछन् ।

















